पूर्वराष्ट्रपति भण्डारीद्वारा संयमता र सामाजिक सद्भाव कायम राख्न अपिल

ड्रागन मिडिया समाचार कक्ष
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशमा विकसित संवेदनशील परिस्थितिमा उच्च संयमता अपनाउन तथा सामाजिक सद्भाव खलबल्याउने गतिविधिबाट टाढा रहन सबै पक्षसँग अपिल गर्नुभएको छ।
बिहीबार जारी विज्ञप्तिमा उहाँले अफवाह, घृणात्मक अभिव्यक्ति र समुदायबीच अविश्वास तथा द्वेष फैलाउने गतिविधिले राष्ट्रिय हित र लोकतान्त्रिक मूल्यमान्यतालाई कमजोर बनाउने उल्लेख गर्नुभएको छ।
कुनै एउटा घटनालाई आधार बनाएर सम्पूर्ण समुदायप्रति अविश्वास, द्वेष वा प्रतिशोधको भावना राख्न नहुने उहाँको भनाइ छ।
“कुनै एक घटनालाई आधार बनाएर कुनै पनि सम्पूर्ण समुदायप्रति अविश्वास, द्वेष वा प्रतिशोधको भावना राख्नु हाम्रो राष्ट्रिय हित, सामाजिक संस्कार तथा लोकतान्त्रिक मूल्यमान्यता अनुकूल हुन सक्दैन,” विज्ञप्तिमा उल्लेख छ।
पूर्वराष्ट्रपति भण्डारीले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्पराको स्वतन्त्रतापूर्वक अभ्यास गर्ने मौलिक अधिकार सुनिश्चित गरेको स्मरण गराउनुभएको छ।
धार्मिक तथा सामाजिक विवादको समाधान बल प्रयोग, घृणा वा प्रतिशोधबाट नभई कानुनी शासन, आपसी विश्वास र निरन्तर संवादबाट खोजिनुपर्ने उहाँले बताउनुभएको छ। यस्ता समस्याको दिगो समाधानका लागि राज्यका निकाय, राजनीतिक दल, नागरिक समाज र समुदायका अगुवाले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उहाँको धारणा छ।
उहाँले नेपाल सरकार, सम्बन्धित प्रशासनिक निकाय र सुरक्षा निकायलाई घटनाको निष्पक्ष, पारदर्शी तथा विश्वसनीय छानबिन गर्न आग्रह गर्नुभएको छ।
दोषीलाई कानुनबमोजिम कारवाही गर्न, पीडितलाई न्याय सुनिश्चित गर्न तथा प्रभावित क्षेत्रमा शान्ति सुरक्षा र नागरिकको विश्वास पुनःस्थापित गर्न आवश्यक सबै कदम चाल्नुपर्ने पूर्वराष्ट्रपति भण्डारीले बताउनुभएको छ।
उहाँले संवेदनशील अवस्थामा अपुष्ट सूचना र उत्तेजक अभिव्यक्तिले परिस्थिति थप जटिल बनाउन सक्ने भएकाले सबै नागरिकलाई धैर्य, संयमता र जिम्मेवारीका साथ प्रस्तुत हुन आग्रह गर्नुभएको छ।





