१९ भाद्र २०८३, शुक्रबार

सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल

ड्रागन मिडिया समाचार कक्ष

राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीसहित मधेशका विभिन्न स्थानमा उत्पन्न विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक र जातीय सद्भाव कायम राख्न सबै पक्षसँग अपिल गर्नुभएको छ।

राष्ट्रपतिले बिहीबार जारी गर्नुभएको अपिलमा सदियौँदेखि कायम रहिआएको सामाजिक तथा धार्मिक सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र आपसी सद्भाव नै नेपालको पहिचान र परम्परा भएको उल्लेख गर्नुभएको छ।

उहाँले शान्ति, अमनचयन र सुव्यवस्था कायम गर्दै राष्ट्रिय एकतालाई अझ मजबुत बनाउन राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ।

“यसलाई कायम राख्दै शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन म सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई आग्रह गर्दछु,” राष्ट्रपति पौडेलले अपिलमा भन्नुभएको छ।

उहाँले उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, शान्ति सुव्यवस्थालाई पूर्ववत अवस्थामा ल्याउन तथा नागरिकले शान्तिपूर्ण रूपमा जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्न सरकारले हरसम्भव प्रयास गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

राष्ट्रपति पौडेलले कठिन परिस्थितिलाई थप जटिल बन्न नदिन सबै समुदायबीच एकता, मित्रता, सहिष्णुता र आपसी सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ।

“यो कठिन अवस्थामा स्थितिलाई थप जटिल बन्न नदिई समुदायमा एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम गर्न म सबैलाई हार्दिक अपिल गर्दछु,” उहाँले भन्नुभएको छ।

उहाँले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कानुनी कारवाही गर्न तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरोकारवाला सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिनुभएको छ।

राष्ट्रपति पौडेलले घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ। उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button