१९ भाद्र २०८३, शुक्रबार

कप्तानगञ्ज घटनापछि चार जिल्लामा कर्फ्यु र निषेधाज्ञा

ड्रागन मिडिया समाचार कक्ष

सुनसरीको कप्तानगञ्जमा आइतबार राति भएको घटनामा दुई जनाको ज्यान गएपछि उत्पन्न तनाव नियन्त्रण गर्न सुनसरी, सिरहा र धनुषाका विभिन्न क्षेत्रमा कर्फ्यु तथा पर्साको वीरगन्जमा निषेधाज्ञा जारी गरिएको छ।

सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले स्थानीय सुरक्षा अवस्थाको मूल्याङ्कन गर्दै शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न फरक–फरक समय र क्षेत्र तोकेर आदेश जारी गरेका हुन्।

सुनसरीका १० स्थानीय तहमा मंगलबार राति ९ः०० बजेदेखि लागू गरिएको कर्फ्यु बिहीबार पनि निरन्तर रहेको छ। अवस्था क्रमशः सहज बन्दै गए पनि मृतकका परिवारसँग सहमति हुन नसकेकाले कर्फ्यु कायम राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कप्तानगञ्ज घटनामा घाइते अर्का व्यक्तिको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या दुई पुगेको हो।

सुनसरीबाट शुरु भएको तनाव बुधबारदेखि मधेशका विभिन्न क्षेत्रमा फैलिएको छ। सिरहाको गोलबजारमा भएको झडपमा गोली लागेर औरही गाउँपालिका–२ का १५ वर्षीय गणेश यादवको उपचारका क्रममा मृत्यु भएको छ। त्यसपछि गोलबजार र लहानका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार गोलबजार नगरपालिका–३ स्थित कसहा खोलादेखि पश्चिममा चोहर्वा चोकसम्म तथा वडा नं. ६ को सैनिक चोकदेखि दक्षिणमा वडा नं. ४ को क्याम्पस आसपाससम्म दिउँसो २ः०० बजेदेखि कर्फ्यु लागू गरिएको छ।

त्यस्तै, लहानस्थित पूर्व–पश्चिम राजमार्गको पूर्वमा बलान खोलादेखि पश्चिममा सरस्वती खोला तथा बाटिका होटल क्षेत्रसम्म र उत्तरमा खुट्टी खोलादेखि दक्षिणमा राजमार्गको करिब ५०० मिटर क्षेत्रसम्म अपराह्न ४ः०० बजेदेखि कर्फ्यु जारी गरिएको छ।

धनुषा प्रशासनले जनकपुरधाम उपमहानगरपालिकाका सबै वडा, लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिकाका तोकिएका क्षेत्रमा बिहीबार दिउँसो ३ः३० बजेदेखि अर्को आदेश जारी नभएसम्म कर्फ्यु लगाएको छ। प्रदर्शन उग्र बन्दै गएपछि आवतजावत, सभा, जुलुस र सामूहिक गतिविधिमा रोक लगाइएको प्रशासनले जनाएको छ।

पर्साको वीरगन्ज महानगरपालिकाअन्तर्गत पूर्वमा प्रतिमा चोक–बसपार्क बाइपास सडक, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म बिहीबार साँझ ५ः०० बजेदेखि शुक्रबार बिहान ६ः०० बजेसम्म निषेधाज्ञा जारी गरिएको छ। उक्त क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन, सभा, जुलुस, प्रदर्शन तथा अन्य सामूहिक गतिविधि गर्न रोक लगाइएको छ।

स्थानीय प्रशासनहरूले कर्फ्यु र निषेधाज्ञाको पूर्ण पालना गर्न, सामाजिक सञ्जालमा फैलिने अपुष्ट तथा उत्तेजक सामग्रीमा विश्वास नगर्न र शान्ति, संयमता तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपिल गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button