एनआरएनएद्वारा संवाद र सहकार्यबाट शान्तिपूर्ण समाधान खोज्न आग्रह

ड्रागन मिडिया सम्वाददाता
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले पछिल्लो परिस्थितिबाट उत्पन्न समस्या संवाद, संयम र सहकार्यका माध्यमबाट शान्तिपूर्ण रूपमा समाधान गर्न सबै पक्षलाई आग्रह गरेको छ।
सङ्घका अध्यक्ष डा. हेमराज शर्माले बिहीबार जारी गर्नुभएको विज्ञप्तिमा वर्तमान परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउँदै नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भाव कायम राख्नुपर्नेमा जोड दिइएको छ।
शान्ति, सुरक्षा र आपसी विश्वास पुनःस्थापित गर्न सरकार, राजनीतिक दल, नागरिक समाज, स्थानीय समुदाय तथा सम्पूर्ण सरोकारवालाले संवाद, सहकार्य र आपसी समझदारीका आधारमा अघि बढ्नुपर्ने सङ्घको भनाइ छ।
सङ्घले पछिल्ला घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।





