राष्ट्रपतिद्वारा सबै पक्षलाई साथमा लिएर स्थिति साम्य पार्न प्रधानमन्त्रीलाई सुझाव

ड्रागन मिडिया सम्वाददाता
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहलाई राजनीतिक दललगायत सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक पछिल्लो स्थिति साम्य पार्न सुझाव दिनुभएको छ।
सुनसरी, सिरहालगायत जिल्लामा भएका हिंसात्मक घटना र त्यसपछि उत्पन्न परिस्थितिबारे जानकारी गराउन प्रधानमन्त्री शाह बिहीबार राति राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको थियो।
भेटका क्रममा राष्ट्रपति पौडेलले नागरिकको सुरक्षा सुनिश्चित गर्दै शान्ति सुव्यवस्था र सामाजिक सद्भाव कायम गर्न सरकार गम्भीर र संयमित भएर अघि बढ्नुपर्ने बताउनुभएको थियो। उहाँले राजनीतिक दल, स्थानीय समुदाय र अन्य सरोकारवालासँग समन्वय गरी समस्याको समाधान खोज्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको हो।
प्रधानमन्त्री शाहले हिंसात्मक घटना नियन्त्रण, शान्ति सुव्यवस्था कायम तथा प्रभावित क्षेत्रमा सामान्य अवस्था पुनःस्थापित गर्न सरकारले गरिरहेका प्रयासबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो।
यसैबीच प्रधानमन्त्री शाहले उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई पनि टेलिफोनमार्फत देशको पछिल्लो अवस्था तथा शान्ति सुरक्षा कायम गर्न सरकारले गरिरहेका प्रयासबारे जानकारी गराउनुभएको छ।





