असुलिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने

ड्रागन मिडिया सम्वाददाता
सरकारले हालसम्म असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता गर्नुपर्ने व्यवस्था गरेको छ।
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको सूचना बिहीबार नेपाल राजपत्रमा प्रकाशित भएको हो। आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै दफा १६ बमोजिम लगाइएको शिक्षा समता शुल्क र दफा १७ बमोजिम लगाइएको स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिइएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले साउन ५ गते शिक्षा र स्वास्थ्य समता शुल्क तत्काल लागू नगर्ने घोषणा गर्नुभएको थियो। त्यसपछि सरकारले शुल्क हटाउने प्रक्रिया अघि बढाएको थियो।
अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले जारी गर्नुभएको सूचनाअनुसार हालसम्म शिक्षा वा स्वास्थ्य समता शुल्क असुल गरेका व्यक्ति वा निकायले असुलिएको रकम सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित भुक्तानीकर्तालाई फिर्ता गर्नुपर्नेछ।
तोकिएको अवधिभित्र सम्बन्धित सेवाग्राहीलाई रकम फिर्ता गर्न नसकिए त्यस्तो रकम सङ्घीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ।





