१९ भाद्र २०८३, शुक्रबार

सुनसरी घटनाका मृतक परिवार र गृह मन्त्रालयबीच छ बुँदे सहमति

ड्रागन मिडिया सम्वाददाता

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कमानगञ्जमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच छ बुँदे सहमति भएको छ।

बिहीबार राति भएको सहमतिअनुसार मृतकद्वयलाई नेपाल सरकारबाट शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइनेछ। दुवै मृतकका परिवारलाई सरकारका तर्फबाट जनही १० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाइएको छ।

घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनअनुसार आवश्यक कारवाही प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको छ। देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत तथा त्यससँग सम्बन्धित विषयमा पनि आवश्यक छानबिन तत्काल सुरु गरिने सहमतिपत्रमा उल्लेख छ।

प्रत्येक मृतक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने विषयमा पनि दुवै पक्ष सहमत भएका छन्।

घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिस प्रचलित कानुनबमोजिम कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढाइनेछ।

मृतकद्वयको सम्झनामा देवानगञ्ज गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने विषय पनि सहमतिमा समावेश गरिएको छ।

सहमतिपत्रमा मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताका अभिभावक तथा सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरुङले हस्ताक्षर गर्नुभएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button