१७ भाद्र २०८३, बुधबार

दाङ र प्युठानका सामुदायिक वनबाट १० भरुवा बन्दुकका नाल बरामद

ड्रागन मिडिया सम्वाददाता

दाङ र प्युठानका दुई सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा लुकाइएका १० वटा भरुवा बन्दुकका नाल बरामद गरेको छ।

दाङको बंगलाचुली गाउँपालिका–६ स्थित टोड्केलेटनको लालीगुराँस सामुदायिक वनबाट आठवटा भरुवा बन्दुकका नाल बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद नालमध्ये चारवटा साबुत र चारवटा बेसाबुत अवस्थामा भेटिएका हुन्। ती सबै नाल आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय कमिरेचौरमा राखिएका छन्।

यसैगरी, प्युठानको झिमरुक गाउँपालिका–१ स्थित सौतामारे फेदीको कपिलपाता सामुदायिक वनबाट पनि प्रहरीले दुईवटा भरुवा बन्दुकका नाल फेला पारेको छ।

प्युठानमा बरामद भएका नाल जिल्ला प्रहरी कार्यालयको जिम्मामा राखिएका छन्।

वन क्षेत्रमा ती बन्दुकका नाल कसले, कहिले र कुन उद्देश्यले लुकाएर राखेको थियो भन्ने खुल्न सकेको छैन। घटनामा संलग्न व्यक्तिको पहिचान तथा सम्भावित प्रयोजनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button