ङावा काउन्टीमा दसौँ पशुपालन ग्रीष्म महोत्सव, संस्कृति र स्थानीय अर्थतन्त्रको संयुक्त प्रवर्द्धन

ड्रागन मिडिया सम्वाददाता
चीनको सिचुवान प्रान्तअन्तर्गत ङावा काउन्टीको च्यारो टाउनमा दसौँ पशुपालन ग्रीष्म महोत्सव भव्य रूपमा आयोजना गरिएको छ। घोडादौड, गीत–सङ्गीत, नृत्य, परम्परागत खेलकुद तथा पशुपालनसम्बन्धी प्रदर्शनीसहित आयोजित महोत्सवले स्थानीय लोकसंस्कृति, आधुनिक विकास र जनसेवालाई एउटै मञ्चमा जोडेको छ।
महोत्सवमा स्थानीय संस्कृति झल्काउने प्रस्तुति तथा प्रतियोगितासँगै नागरिकलाई सरकारी नीति, स्वास्थ्य सेवा, पशुपालन सहायता र सामाजिक सुरक्षासम्बन्धी जानकारीसमेत उपलब्ध गराइएको थियो। आयोजकले मनोरञ्जनसँगै जनहितकारी नीति बुझाउने उद्देश्यले महोत्सवस्थलमा परामर्श तथा सेवा केन्द्र सञ्चालन गरेका थिए।


कार्यक्रममा स्वास्थ्य बीमा विस्तार तथा वन र घाँसेमैदानमा आगलागी रोकथामसम्बन्धी काममा योगदान पुर्याएका गाउँस्तरीय कर्मचारी, स्थानीय अनुगमनकर्ता, समुदाय र नमुना परिवार गरी २४ समूह तथा व्यक्तिलाई सम्मान गरिएको थियो। सम्मानले स्थानीय बासिन्दालाई सार्वजनिक हितका कार्यक्रममा सक्रिय सहभागिताका लागि प्रोत्साहित गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।
पद्मा ल्हाथाङ गाउँका एक स्थानीय कर्मचारीले पशुपालन ग्रीष्म महोत्सवले सरकारी प्रतिनिधि र स्थानीय बासिन्दाबीच प्रत्यक्ष संवाद गर्ने प्रभावकारी अवसर सिर्जना गरेको बताउनुभयो। प्रतियोगिता, नीति प्रचार र सम्मान कार्यक्रममार्फत स्वास्थ्य बीमा, घाँसेमैदान व्यवस्थापन तथा पशुधनसम्बन्धी अनुदानलगायत जनहितकारी व्यवस्थाबारे नागरिकलाई जानकारी गराइएको उहाँको भनाइ छ।


महोत्सवमा चिया पकाउने, दौड, डोरी तान्ने, बोरा उठाउने, मोटरसाइकल कौशल प्रदर्शन तथा ऊन कात्ने र बुन्नेसहित १० भन्दा बढी परम्परागत खेल तथा सीप प्रतियोगिता आयोजना गरिएका थिए। स्थानीय बासिन्दा र पर्यटकको आकर्षण बनेको दुईदिने घोडादौडमा विभिन्न जात र समूहका घोडाबीच गति तथा चालसम्बन्धी प्रतियोगिता सञ्चालन गरिएको थियो।
स्थानीय प्रजातिका भेडा तथा गुणस्तरीय चौरीगाई र गाईवस्तुको छनोट तथा प्रदर्शन पनि महोत्सवको प्रमुख आकर्षण बनेको थियो। यसमार्फत परम्परागत पशुपालनलाई वैज्ञानिक, व्यवस्थित र मापदण्डअनुकूल उत्पादन प्रणालीतर्फ रूपान्तरण गर्न स्थानीय किसानलाई प्रोत्साहित गरिएको छ।
कृषि तथा पशुपालन उत्पादन प्रदर्शनी क्षेत्रमा चौरीको मासु, घिउ, दहीलगायत पठार क्षेत्रका विशेष उत्पादन राखिएका थिए। उत्पादन र बजारबीच प्रत्यक्ष सम्बन्ध स्थापना गरी स्थानीय घाँसेमैदान तथा पशुधनको प्राकृतिक लाभलाई आयआर्जनको आधारमा बदल्ने उद्देश्यले बिक्री तथा प्रवर्द्धन व्यवस्था मिलाइएको थियो।
महोत्सवस्थल वरपर स्थापना गरिएका नीति परामर्श केन्द्रमा स्थानीय अधिकारीले चिनियाँ र तिब्बती दुवै भाषामा पशुधन अनुदान, घाँसेमैदान व्यवस्थापन, स्वास्थ्य बीमा र वृद्धावस्था सुरक्षासम्बन्धी नीति बुझाएका थिए।
नुस्कोरमा गाउँकी बासिन्दा टाशी ल्हामोले आफ्नो परिवार हरेक वर्ष महोत्सवमा सहभागी हुने गरेको बताउनुभयो। घोडादौड र परम्परागत प्रतियोगिता हेर्नुका साथै वैज्ञानिक पशुपालन विधिबारे जानकारी लिन र आफ्ना चौरीजन्य उत्पादन बिक्री गर्न महोत्सव उपयोगी बनेको उहाँको भनाइ छ।
स्थानीय सरकारले उपलब्ध गराएको बिक्री स्थल र पशुपालन सहायता नीतिले चौरीको घिउ तथा मासुको बजार विस्तार भएको उल्लेख गर्दै उहाँले आधुनिक पशुपालनबाट आम्दानी बढाउने विश्वास पहिलेभन्दा बलियो बनेको बताउनुभयो।





