धनुषामा दुई घण्टा कर्फ्यु खुकुलो, अत्यावश्यक वस्तु खरिद गर्न अनुमति

ड्रागन मिडिया सम्वाददाता
जिल्ला प्रशासन कार्यालय धनुषाले दूध, तरकारी, फलफूल र खाद्यान्नलगायत अत्यावश्यक वस्तु खरिद गर्न शुक्रबार बिहान दुई घण्टाका लागि कर्फ्यु खुकुलो बनाएको छ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार बिहान ६ बजेदेखि ८ बजेसम्म सर्वसाधारणलाई अत्यावश्यक सामग्री खरिद गर्न आंशिक रूपमा आवतजावतको अनुमति दिइएको हो।
बिहीबार अपराह्न साढे ३ बजेदेखि लगाइएको कर्फ्यु आदेश भने अर्को सूचना जारी नभएसम्म निरन्तर रहने प्रशासनले जनाएको छ। सर्वसाधारणको दैनिक जीवनलाई सहज बनाउन सीमित अवधिका लागि मात्र कर्फ्यु खुकुलो बनाइएको प्रमुख जिल्ला अधिकारी लुइँटेलले बताउनुभएको छ।
कर्फ्यु अवधिमा अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन तथा पानी र दूध ढुवानी गर्ने सवारीसाधनलगायत अत्यावश्यक सेवा सञ्चालनमा रहनेछन्।
स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसकर्मी, तीर्थयात्री, बिरामी तथा विमानस्थल जाने र फर्कने यात्रुले परिचयपत्र वा आवश्यक प्रमाण देखाएर आवतजावत गर्न सक्ने प्रशासनले जनाएको छ। यात्रुलाई लिन वा पुर्याउन जाने व्यक्तिले पनि प्रमाण पेश गर्नुपर्नेछ।
जनकपुरधामसहित कर्फ्यु जारी गरिएका क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउँदै नेपाली सेना परिचालन गरिएको छ।
बिहीबार प्रदर्शनकारी र प्रहरीबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले ६७ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। झडपमा घाइते भएका एक बालकलाई थप उपचारका लागि राति नेपाली सेनाको विमानबाट काठमाडौँ पठाइएको छ।





