देवानगञ्ज घटनाका पीडित परिवारसँगको सहमति पूर्ण कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिबद्धता

ड्रागन मिडिया सम्वाददाता
गृहमन्त्री सुधन गुरुङले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसँग भएको सहमति सरकारले पूर्ण रूपमा कार्यान्वयन गर्ने बताउनुभएको छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै गृहमन्त्री गुरुङले नेपाल सरकार सत्य, न्याय, कानुनी शासन र नागरिकको विश्वासप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको हो।
उहाँले घटनामा ज्यान गुमाएका दुवै नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। पीडित परिवारसँग भएको सहमतिअनुसार मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने उहाँले जानकारी दिनुभएको छ।
सहमतिको व्यवस्थाअनुसार मृतकका प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ। घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम कारवाही गरिने तथा घटनासँग सम्बन्धित कानुनी र नीतिगत विषयमा आवश्यक अध्ययन अघि बढाइने गृहमन्त्री गुरुङले बताउनुभएको छ।
त्यसैगरी, प्रत्येक पीडित परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइनेछ। घटनाबारे गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव र सिफारिसका आधारमा आवश्यक निर्णय तथा कार्यान्वयन प्रक्रिया अघि बढाइनेछ।
मृतकद्वयको स्मृतिमा उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्न स्थानीय सरकारसँग आवश्यक समन्वय गरिने प्रतिबद्धतासमेत गृहमन्त्री गुरुङले व्यक्त गर्नुभएको छ।





