१७ भाद्र २०८३, बुधबार

वैशाखयता देशभर तीन हजार ९५१ विपदका घटना, १९३ जनाको मृत्यु

ड्रागन मिडिया सम्वाददाता

गत वैशाख १ देखि साउन १४ गतेसम्म देशका विभिन्न भागमा तीन हजार ९५१ वटा विपदजन्य घटना भएका छन्।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा १९३ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। एक हजार १६५ जना घाइते भएका र पाँच हजार ८७ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ।

उक्त अवधिमा सबैभन्दा बढी एक हजार दुईवटा आगलागीका घटना भएका छन्। यस्तै, सर्पदंशका ६७०, पहिरोका ६६२, हावाहुरीका ४७९, चट्याङका २३१, भारी वर्षाका २२६, वन्यजन्तु आक्रमणका २१८, बाढीका १९८ तथा वन डढेलोका १९१ घटना अभिलेख भएका छन्।

यसैबीच साउन १३ गते बिहान १० बजेदेखि साउन १४ गते बिहान १० बजेसम्म देशका विभिन्न स्थानमा ३४ वटा विपदजन्य घटना भएको प्राधिकरणले जनाएको छ।

चौबीस घण्टाको उक्त अवधिमा १३ जना घाइते भएका छन् भने २३ जनाको उद्धार गरिएको छ। घटनाबाट ४१ लाख आठ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक विवरण छ।

सो अवधिमा भारी वर्षाका नौ, सर्पदंश र आगलागीका आठ–आठ, पहिरोका पाँच, वन्यजन्तु आक्रमणका तीन तथा बाढीको एउटा घटना भएको थियो।

प्राधिकरणका अनुसार साउन १३ गते बिहान ८ः४५ बजेदेखि साउन १४ गते बिहान ८ः४५ बजेसम्म देशभरका ४४८ वर्षा मापन केन्द्रमध्ये २६६ केन्द्रमा वर्षा अभिलेख भएको छ।

उक्त अवधिमा सबैभन्दा बढी १०४.६ मिलिमिटर वर्षा कञ्चनपुरको दोधारामा मापन गरिएको प्राधिकरणले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button