१९ भाद्र २०८३, शुक्रबार

सुनसरी घटनाको निष्पक्ष छानबिन र न्याय सुनिश्चित गर्ने गृहमन्त्रीको प्रतिबद्धता

ड्रागन मिडिया सम्वाददाता

गृहमन्त्री सुधन गुरुङले सुनसरीमा भएको पछिल्लो द्वन्द्व र झडपलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय सुनिश्चित गरिने प्रतिबद्धता जनाउनुभएको छ।

सुनसरी पुगेर घटनाका घाइते तथा मृतकका परिवारसँग भेट गरेपछि उहाँले नागरिकको सुरक्षा, न्याय र जायज माग सम्बोधन गर्न सरकार दृढ रहेको स्पष्ट पार्नुभएको हो।

गृहमन्त्री गुरुङले वर्तमान सरकारप्रति नागरिकको ठूलो अपेक्षा रहेको उल्लेख गर्दै विगतमा माग पूरा नभएको र छानबिन निष्पक्ष नभएको भन्ने गुनासो यसपटक दोहोरिन नदिइने बताउनुभयो।

“पहिला धेरैपटक माग गर्दा पूरा नभएको र छानबिन पनि निष्पक्ष नभएको गुनासो थियो, तर यसपालि त्यस्तो हुँदैन। हामीलाई मत दिएर पठाउने नागरिकलाई निराश बनाउने काम हाम्रो तर्फबाट हुने छैन,” उहाँले भन्नुभयो।

ठूलो लगानीमा निर्माण भएका केही मस्जिद र मदरसाको दर्ता तथा सरकारी निगरानीबारे स्थानीयले उठाएको प्रश्नमा गृहमन्त्री गुरुङले विगतका कमजोरीको जिम्मेवारी वर्तमान सरकारमाथि मात्र थोपर्न नमिल्ने बताउनुभयो। यद्यपि अब धार्मिक तथा शैक्षिक संस्थाको कानुनी हैसियत र नियमनमा सरकारले आवश्यक ध्यान दिने उहाँको भनाइ छ।

“हामी सरकारमा आएको भर्खर तीन महिना भयो। पहिला के भयो र कसले निगरानी गरेन, त्यो पुरानो भारी हामी अहिले बोक्न सक्दैनौँ। तर अबका दिनमा यस्ता विषयमा सरकारले ध्यान दिनेछ,” उहाँले भन्नुभयो।

घटना भएको पाँच दिनपछि मात्र प्रभावित क्षेत्रमा पुगेको विषयमा गृहमन्त्री गुरुङले देशका अन्य स्थानमा समेत स्थिति बिग्रन नदिन सुरक्षा व्यवस्थापन र पूर्वतयारी गर्नुपरेकाले केही समय लागेको स्पष्ट पार्नुभयो।

गृहमन्त्री सबै घटनास्थलमा तत्काल पुग्नुपर्ने नागरिकको अपेक्षा स्वाभाविक भए पनि देशभर शान्ति सुरक्षा कायम राख्ने दायित्वसमेत निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो। समयमै गरिएको पूर्वतयारीका कारण अन्य क्षेत्रमा स्थिति नियन्त्रणबाहिर जान नदिइएको उहाँको दाबी छ।

सुरक्षा निकायलाई आवश्यक साधनश्रोत उपलब्ध गराउन विगतमा बजेट अभाव रहेको उल्लेख गर्दै उहाँले साउन १ गतेदेखि नयाँ बजेट कार्यान्वयनमा आएकाले सुरक्षा संयन्त्रलाई थप सुदृढ बनाइने जानकारी दिनुभयो।

सुरक्षा निकायलाई अझ उत्तरदायी बनाउने र भविष्यमा यस्ता घटना दोहोरिन नदिने उद्देश्यले सरकारले योजनाबद्ध रूपमा काम शुरु गरिसकेको पनि गृहमन्त्री गुरुङले बताउनुभएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button