१७ भाद्र २०८३, बुधबार

सबैलाको मन्दिर परिसरमा पुरुष मृत फेला परेको घटना धार्मिक विवादसँग सम्बन्धित नरहेको प्रहरीको भनाइ

ड्रागन मिडिया सम्वाददाता

धनुषाको सबैला नगरपालिका–१२, नहरचोकस्थित मन्दिर परिसरमा एक पुरुष मृत अवस्थामा फेला परेको घटना हाल जारी धार्मिक विवादसँग सम्बन्धित नरहेको प्रहरीले स्पष्ट पारेको छ।

मंगलबार राति मन्दिर परिसरमा अन्दाजी ४० वर्षीय बन्थु राउत कडेरीको शव फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार कडेरी मन्दिरका पुजारी थिएनन्। उनी बाहिर कामकाज गर्ने र राति मन्दिर परिसरमा सुत्न आउने व्यक्ति रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ तालिमप्राप्त कुकुरसहितको विशेष अनुसन्धान टोली घटनास्थलमा परिचालन गरी अनुसन्धान शुरु गरिएको छ।

प्रारम्भिक अनुसन्धानबाट घटना धार्मिक विवादसँग नभई आपराधिक मनसाय भएका व्यक्तिको संलग्नतामा भएको देखिएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले विज्ञप्ति जारी गर्दै घटनालाई धार्मिक विवादसँग नजोड्न र अपुष्ट सूचना प्रसार नगर्न आग्रह गर्नुभएको छ।

प्रहरीले समाजमा शान्ति र सद्भाव कायम राख्न सहयोग गर्न सबै नागरिकसँग अपिल गर्दै घटनामा संलग्न व्यक्ति जोसुकै भए पनि छिट्टै पहिचान गरी कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button