गृहमन्त्री गुरुङ आज सिरहा जाँदै, गोली लागेर ज्यान गुमाएका किशोरको परिवारलाई भेट्ने

ड्रागन मिडिया सम्वाददाता
गृहमन्त्री सुधन गुरुङ बिहीबार गोलबजारमा भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका किशोरको परिवारलाई भेट्न आज सिरहा जानुहुने भएको छ।
गोलबजारमा भएको झडपका क्रममा औरही गाउँपालिका–२, तुलसीपुरका १७ वर्षीय गणेश यादवको गोली लागेर ज्यान गएको थियो। गृहमन्त्री गुरुङले शुक्रबार दिउँसो मृतकको घर पुगेर परिवारजनसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकका अनुसार गृहमन्त्री गुरुङ हाल विराटनगरमा हुनुहुन्छ। उहाँ केही समयपछि विराटनगरबाट सिरहाका लागि प्रस्थान गर्ने र दिउँसो २ देखि ३ बजेसम्म पुग्ने अनुमान गरिएको छ।
गृहमन्त्री गुरुङले पीडित परिवारसँग भेट गरी घटनाबारे जानकारी लिनुका साथै त्यसपछि उत्पन्न परिस्थितिबारे स्थानीय प्रशासन र सुरक्षा अधिकारीसँग छलफल गर्ने अपेक्षा गरिएको छ।





