१९ भाद्र २०८३, शुक्रबार

ह्वाङयान ताओ वरपर चिनियाँ जनमुक्ति सेना र तटरक्षक बलको गस्ती तीव्र

ड्रागन मिडिया समाचार कक्ष

चिनियाँ जनमुक्ति सेनाको दक्षिणी थिएटर कमान्ड र चीन तटरक्षक बलले बिहीबार ह्वाङयान ताओको प्रादेशिक समुन्द्र तथा आकाश क्षेत्र र आसपासका भागमा संयुक्त गस्ती गरेका छन्। गस्तीमा नौसेनाको नयाँ टाइप ०५४बी फ्रिगेट ‘छिनचौ’ र वायुसेनाको जेएल–१० उन्नत प्रशिक्षण विमानसमेत परिचालन गरिएको थियो।

दक्षिणी थिएटर कमान्डले जारी गरेको वक्तव्यअनुसार नौसैनिक तथा हवाई एकाइले चीनको भौगोलिक सार्वभौमिकताको रक्षा र दक्षिण चीन समुन्द्रमा शान्ति तथा स्थिरता कायम गर्ने उद्देश्यले युद्धतत्परता गस्ती सञ्चालन गरेका हुन्।

कमान्डले ह्वाङयान ताओ चीनको अभिन्न भूभाग भएको उल्लेख गर्दै जुलाईदेखि त्यस क्षेत्रको प्रादेशिक समुन्द्र र आकाश क्षेत्रमा गस्ती थप सुदृढ गरिएको जनाएको छ। अधिकार उल्लङ्घन तथा उत्तेजक गतिविधिको प्रभावकारी प्रतिकार गर्न गस्ती तीव्र पारिएको वक्तव्यमा उल्लेख छ।

दक्षिणी थिएटर कमान्डले सार्वजनिक गरेको भिडियोमा ५५५ नम्बर अंकित टाइप ०५४बी फ्रिगेट ‘छिनचौ’ र चिनियाँ सैन्य विमानले फिलिपिन्सको शङ्कास्पद टोही विमानलाई चेतावनी दिएको सुनिन्छ।

“फिलिपिनी सैन्य विमान, यो चिनियाँ वायुसेना हो। तपाईं चीनको ह्वाङयान ताओको आकाश क्षेत्रबाट ४० किलोमिटर टाढा हुनुहुन्छ। थप नजिक नआउनुहोस्, अन्यथा तपाईंलाई अवरोध गरिनेछ,” चेतावनीमा भनिएको छ।

चिनियाँ सैन्य मामिला विशेषज्ञ सोङ चोङपिङले ग्लोबल टाइम्सलाई बताउनुभएअनुसार सार्वजनिक दृश्यमा जेएल–१० विमान ह्वाङयान ताओ वरपरको युद्धतत्परता गस्तीमा पहिलोपटक देखिएको हो। अन्तर्राष्ट्रिय बजारमा एल–१५ का रूपमा चिनिने यो विमान मुख्यतः उन्नत प्रशिक्षणका लागि बनाइएको भए पनि आक्रमण तथा स्थल लक्ष्यविरुद्धको कारवाहीमा समेत प्रयोग गर्न सकिन्छ।

सोङका अनुसार अन्य लडाकु विमानको तुलनामा जेएल–१० को न्यून गतिमा उडान गर्ने क्षमता बलियो भएकाले ढिलो गतिमा उड्ने सरकारी वा टोही विमानलाई अनुगमन तथा क्षेत्रबाट हटाउन उपयुक्त हुन्छ।

विशेषगरी प्रोपेलर इञ्जिनयुक्त सरकारी विमान साधारण लडाकु विमानभन्दा निकै कम गतिमा उड्ने भएकाले प्रशिक्षण विमानलाई गस्ती तथा निश्चित लडाकु क्षमतासहित प्रयोग गर्दा टाढाको समुन्द्र र खुला आकाश क्षेत्रमा सञ्चालन गर्न प्रभावकारी हुने उहाँले बताउनुभयो।

उहाँका अनुसार जेएल–१० विभिन्न प्रकारका हवाई अड्डामा परिचालन गर्न सकिने भएकाले टाढाका समुन्द्री र हवाई क्षेत्रमा नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी अभियानका लागि पनि उपयोगी छ।

यसैबीच चीन तटरक्षक बलले बिहीबार नै ह्वाङयान ताओको प्रादेशिक समुन्द्र र आसपासका क्षेत्रमा कानुन कार्यान्वयन गस्ती गरेको छ।

तटरक्षक बलले जुलाईदेखि गस्ती बढाउँदै गैरकानुनी रूपमा प्रवेश गर्ने र अवरोध सिर्जना गर्ने जहाजलाई चेतावनी, मार्ग अवरोध तथा पानीको फोहरा प्रयोग गरेर हटाइएको जनाएको छ। ती सबै उपाय सम्बन्धित कानुन र नियमअनुसार अपनाइएको उसको भनाइ छ।

चीन तटरक्षक बलले सार्वजनिक गरेको भिडियोमा धेरै फिलिपिनी जहाज ह्वाङयान ताओ नजिकका जलक्षेत्रमा प्रवेश गरेपछि चिनियाँ जहाजले तिनलाई हटाउन कारवाही गरेको देखिन्छ।

“फिलिपिनी जहाज ३०१२, यो चीन तटरक्षक जहाज ३३०२ हो। तपाईं चीनको ह्वाङयान ताओको प्रादेशिक जलक्षेत्र नजिक आइरहनुभएको छ। आफ्नो गैरकानुनी गतिविधि रोक्नुहोस् र तत्काल यस क्षेत्रबाट बाहिरिनुहोस्,” चिनियाँ तटरक्षक जहाजले दिएको चेतावनीमा भनिएको छ।

चीन तटरक्षक बलले सम्बन्धित जलक्षेत्रको व्यवस्थित व्यवस्थापन सुदृढ गर्न तथा चीनको भौगोलिक सार्वभौमिकता र समुन्द्री अधिकार तथा हितको दृढतापूर्वक रक्षा गर्न गस्ती सञ्चालन गरिएको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button