फ्रान्सको डढेलो नियन्त्रणमा सघाउन हेलिकोप्टर र अग्निनियन्त्रक पठाउँदै अष्ट्रेलिया

ड्रागन मिडिया समाचार कक्ष
अष्ट्रेलिया सरकारले फ्रान्समा फैलिएको विनाशकारी डढेलो नियन्त्रणमा सहयोग गर्न अग्निनियन्त्रण हेलिकोप्टर र विशेषज्ञ टोली पठाउने घोषणा गरेको छ।
अष्ट्रेलियाका उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचर्ड मार्ल्स, विदेशमन्त्री पेनी वोङ, आपत्कालीन व्यवस्थापनमन्त्री क्रिस्टी म्याकबेन र न्यू साउथ वेल्सका आपत्कालीन सेवामन्त्री जिहाद डिबले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै सहायता सामग्री र टोली केही दिनभित्र फ्रान्स पठाइने जानकारी दिनुभएको हो।
अष्ट्रेलियाले ११ हजार ३०० लिटर क्षमताको पानी ट्याङ्की जडान गरिएको सीएच–४७डी चिनुक हेलिकोप्टर तथा टोही र सहयोगका लागि बेल–४१२ हेलिकोप्टर परिचालन गर्नेछ। यससँगै न्यू साउथ वेल्स ग्रामीण अग्नि सेवाका २४ जना दक्ष हवाई तथा स्थलगत कर्मचारी पनि फ्रान्स जानेछन्।
अष्ट्रेलियाली टोलीले चौबीसै घण्टा सञ्चालन हुने अग्निनियन्त्रण अभियानमा सहयोग गर्दै घटनास्थलमा परिचालित फ्रान्सेली आपत्कालीन सेवामाथिको दबाब कम गर्नेछ। लामो समयदेखिको गर्मी र विभिन्न क्षेत्रमा एकैपटक फैलिएका आगलागीका कारण फ्रान्सले दशकौँयताकै गम्भीर डढेलो सङ्कट सामना गरिरहेको संयुक्त वक्तव्यमा उल्लेख छ।
फ्रान्स सरकारको औपचारिक अनुरोधपछि सहायता पठाउने निर्णय गरिएको हो। अष्ट्रेलियाली रक्षा बलले कर्मचारी, हेलिकोप्टर र उपकरण तीव्र रूपमा फ्रान्स पुर्याउन हवाई ढुवानी तथा बन्दोबस्ती सहयोग उपलब्ध गराउनेछ।
अष्ट्रेलियाली विदेशमन्त्री वोङले फ्रान्स निकट र महत्त्वपूर्ण साझेदार भएको उल्लेख गर्दै कठिन अवस्थामा अष्ट्रेलिया फ्रान्सेली जनताको साथमा रहेको बताउनुभएको छ।
आपत्कालीन व्यवस्थापनमन्त्री म्याकबेनले सन् २०१९–२० को ‘ब्ल्याक समर’ डढेलो सङ्कटका बेला फ्रान्सले अष्ट्रेलियालाई सहयोग गरेको स्मरण गर्दै अहिले फ्रान्सलाई सहयोग गर्नु आपसी मित्रता र एकताको अभिव्यक्ति भएको बताउनुभएको छ।





