प्रेमप्रकाश मल्ल ‘मधुकर’को ९१औँ जन्मजयन्तीमा रचनावली विमोचन गरिने

ड्रागन मिडिया सम्वाददाता
मेरी साहित्य समाज केन्द्रीय समिति नेपालगञ्जले साहित्यकार प्रेमप्रकाश मल्ल ‘मधुकर’को ९१औँ जन्मजयन्तीका अवसरमा रचनावली विमोचन, परिचर्चा, पुरस्कार अर्पण तथा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ।
समाजले जारी गरेको निमन्त्रणापत्रअनुसार कार्यक्रम साउन १६ गते शनिबार बिहान १०ः३० बजे नेपालगञ्जस्थित स्वस्तिक कटेज एन्ड गार्डेन रेस्टुरेन्टमा आयोजना हुनेछ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा. राजन सुवालको प्रमुख आतिथ्यमा हुने समारोहमा ‘प्रेमप्रकाश मल्ल मधुकर रचनावली’ विमोचन गरिनेछ। विमोचित कृतिमाथि साहित्यिक परिचर्चासमेत सञ्चालन गरिने आयोजकले जनाएको छ।
समारोहमा साहित्य, कला तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई पुरस्कार अर्पण र सम्मान गर्ने कार्यक्रम पनि समावेश गरिएको छ।
मेरी साहित्य समाज केन्द्रीय समितिका अध्यक्ष इन्द्रबहादुर बरनेतले साहित्यकार मधुकरको सिर्जनात्मक योगदानको स्मरण र सम्मान गर्दै उहाँका रचनालाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभएको छ।
आयोजक संस्थाले साहित्यकार, स्रष्टा, अध्येता, शुभेच्छुक तथा सर्वसाधारणलाई समारोहमा उपस्थितिका लागि आग्रह गरेको छ।





