१९ भाद्र २०८३, शुक्रबार

बालबालिकालाई प्रदर्शनमा सहभागी नगराउन मधेस सरकारको आग्रह

ड्रागन मिडिया सम्वाददाता

मधेस प्रदेश सरकारले अत्यावश्यक कामबाहेक बालबालिकालाई घरबाहिर नपठाउन अभिभावकहरूलाई आग्रह गरेको छ।

प्रदेशका विभिन्न जिल्लामा भइरहेका प्रदर्शन, जुलुस र भीडमा बालबालिका तथा किशोरकिशोरीको सहभागिता बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै सरकारले उनीहरूलाई उक्साहट, अफवाह, उत्तेजना वा हिंसात्मक गतिविधिबाट टाढा राख्न आग्रह गरेको हो।

मधेस प्रदेशको गृह मन्त्रालयले हाल प्रदेशका केही स्थानमा देखिएको साम्प्रदायिक तनाव तथा हिंसात्मक घटनाका क्रममा सडक प्रदर्शन र जुलुसमा कलिला बालबालिका तथा युवाको संलग्नता बढिरहेको जनाएको छ।

“कृपया आफ्ना छोराछोरीलाई कुनै पनि उक्साहट, अफवाह, उत्तेजना वा हिंसात्मक गतिविधिमा सहभागी हुन नदिनुहोस्। अत्यावश्यक कामबाहेक घरबाहिर नपठाउनुहोस्, उनीहरूको गतिविधिमा निगरानी राख्नुहोस् र सामाजिक सञ्जालमा फैलिने भ्रामक तथा भड्काउ सूचनाबाट सचेत गराउनुहोस्,” मन्त्रालयले अभिभावकहरूसँग गरेको अपिलमा भनिएको छ।

बिहीबार सिरहामा भएको प्रदर्शनका क्रममा गोली लागेर एक किशोरको ज्यान गएको थियो। जनकपुरधाममा भएको झडपमा घाइते एक बालकलाई पनि बिहीबार राति थप उपचारका लागि काठमाडौँ पठाइएको थियो।

प्रदेश सरकारले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न परिवार, समुदाय र सम्बन्धित सबै पक्षलाई जिम्मेवार तथा संयमित भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button