१९ भाद्र २०८३, शुक्रबार

‘मलाई संघीयता विरोधी भनेर सपनामा पनि नसोच्नुहोस्’ : प्रधानमन्त्री शाह


ड्रागन मिडिया सम्वाददाता

प्रधानमन्त्री वालेन्द्र शाहले आफू संघीयता विरोधी नभएको स्पष्ट पार्दै संघीय व्यवस्थालाई अझ बलियो बनाउने पक्षमा रहेको बताउनुभएको छ।

शुक्रबार मधेसकेन्द्रित राजनीतिक दलका नेताहरूसँग भएको छलफलका क्रममा प्रधानमन्त्री शाहले आफूलाई संघीयता विरोधीका रूपमा नबुझ्न आग्रह गर्नुभएको राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिनुभयो।

महतोका अनुसार छलफलमा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनबाट संघीयतासम्बन्धी पारित प्रस्ताव र त्यसबाट उत्पन्न आशङ्काको विषय प्रधानमन्त्रीसमक्ष उठाउनुभएको थियो।

त्यस क्रममा प्रधानमन्त्री शाहले संघीयतालाई कमजोर बनाउने नभई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्य रहेको स्पष्ट पार्नुभएको महतोले बताउनुभयो।

प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै महतोले भन्नुभयो, “मलाई संघीयता विरोधी भनेर सपनामा पनि नसोच्नुहोला। संघीयतालाई कसरी बलियो बनाउने भन्ने नै हो। संरचनामा केही परिवर्तन ल्याउने कुरा थियो, तर त्यसबारे गलत सन्देश गएको छ।”

प्रधानमन्त्रीसँगको छलफलमा मधेसकेन्द्रित दलका नेताहरूले संघीयता, प्रदेश संरचना र पछिल्लो राजनीतिक परिस्थितिबारे आफ्ना धारणा तथा चासो राखेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button