१९ भाद्र २०८३, शुक्रबार

गृहमन्त्रीको भ्रमणअघि गणेश यादवको घरअगाडि स्थानीय र सुरक्षा टोलीबीच तनाव

ड्रागन मिडिया सम्वाददाता

सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर ज्यान गुमाएका गणेश यादवको घरअगाडि स्थानीय बासिन्दा र सुरक्षा निकायको टोलीबीच तनाव उत्पन्न भएको छ।

गृहमन्त्री सुधन गुरुङ मृतक परिवारलाई भेट्न जाने कार्यक्रमअघि सुरक्षाका लागि पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा जिल्ला प्रशासन कार्यालय सिरहाका सवारीसाधन स्थानीयले घेराउ गरेका हुन्।

सुनसरीको घटनालाई लिएर बिहीबार सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा औरही गाउँपालिका–२, तुलसियाहीका १५ वर्षीय गणेश यादवको गोली लागेर ज्यान गएको थियो।

स्थानीय बासिन्दाले न्यायको माग गर्दै प्रदर्शनमा सहभागी भएका केही व्यक्तिलाई ‘साम्प्रदायिक सद्भाव खलबल्याएको’ आरोपमा नियन्त्रणमा लिइएको भन्दै तत्काल रिहाइको माग गरेका छन्।

उनीहरूले नियन्त्रणमा लिइएका व्यक्तिलाई रिहा नगरेसम्म सरकारी तथा सुरक्षा निकायका सवारीसाधनलाई अघि बढ्न नदिने अडान लिएका छन्।

घटनास्थलमा थप तनाव हुन नदिन सुरक्षा निकाय र स्थानीय प्रतिनिधिबीच संवादको प्रयास भइरहेको छ। गृहमन्त्री गुरुङले मृतक परिवारसँग भेट गरी घटनाबारे जानकारी लिने कार्यक्रम रहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button