१७ भाद्र २०८३, बुधबार

नेपाल–चीन सम्बन्धको ७१औँ वार्षिकोत्सवमा सी जिनपिङ र राजदूत चाङलाई शुभकामना

ड्रागन मिडिया समाचार कक्ष

नेपाल–चीन पारस्परिक सहयोग समाजले नेपाल र जनवादी गणतन्त्र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ७१औँ वार्षिकोत्सवका अवसरमा चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव सी जिनपिङ र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङलाई छुट्टाछुट्टै शुभकामना सन्देश पठाएको छ।

समाजका अध्यक्ष प्रेम सागर पौडेलले अगस्ट १ को ऐतिहासिक अवसरमा राष्ट्रपति सी, चिनियाँ सरकार र मित्रवत महान चिनियाँ जनताप्रति हार्दिक बधाई तथा निरन्तर प्रगति, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ।

राष्ट्रपति सीलाई पठाइएको सन्देशमा सन् १९५५ अगस्ट १ मा औपचारिक रूपमा स्थापित नेपाल–चीन सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, पारस्परिक सम्मान, सार्वभौमिक समानता, आपसी विश्वास तथा एकअर्काका संवेदनशीलता र मूल हितप्रतिको सम्मानमा आधारित रहेको उल्लेख गरिएको छ।

सात दशकभन्दा लामो अवधिमा दुई देशबीचको सम्बन्ध भौगोलिक निकटतामा मात्र सीमित नरही प्राचीन सभ्यतागत सम्पर्क, सांस्कृतिक आदानप्रदान र जनस्तरीय मित्रताका आधारमा सुदृढ बनेको अध्यक्ष पौडेलले उल्लेख गर्नुभएको छ।

सन्देशमा राष्ट्रपति सीको नेतृत्वमा चीनले आर्थिक, वैज्ञानिक, प्राविधिक र सामाजिक क्षेत्रमा हासिल गरेको प्रगतिले चिनियाँ जनताको जीवनस्तरमा ऐतिहासिक परिवर्तन ल्याउनुका साथै विश्वव्यापी विकास, शान्ति र सहकार्यमा महत्त्वपूर्ण योगदान पुर्‍याएको जनाइएको छ।

साझा भविष्यसहितको मानव समुदाय निर्माण गर्ने राष्ट्रपति सीको दृष्टिकोणले समानता, शान्तिपूर्ण सहअस्तित्व र साझा समृद्धिमा आधारित अन्तर्राष्ट्रिय सम्बन्धका लागि नयाँ मार्ग प्रस्तुत गरेको समाजको भनाइ छ।

समाजले एक चीन सिद्धान्तप्रतिको आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्दै नेपालको भूमि चीनविरोधी गतिविधिमा प्रयोग हुन नदिनु नेपाल–चीन आपसी विश्वास र नेपालको राष्ट्रिय हितसँग जोडिएको आधारभूत विषय भएको स्पष्ट पारेको छ। यस उद्देश्यका लागि समाजले आफ्नो क्षमताअनुसार निरन्तर भूमिका निर्वाह गरिरहेको सन्देशमा उल्लेख छ।

बेल्ट एन्ड रोड सहकार्य, हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल, पूर्वाधार विकास, व्यापार, लगानी, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान–प्रविधि, संस्कृति तथा जनस्तरीय सम्बन्धका क्षेत्रमा थप व्यावहारिक सहकार्य विस्तार हुने विश्वास पनि व्यक्त गरिएको छ।

यसैगरी, चिनियाँ राजदूत चाङ माओमिङलाई पठाइएको सन्देशमा नेपाल–चीन दौत्य सम्बन्ध पारस्परिक सम्मान, सार्वभौमिक समानता, अहस्तक्षेप, शान्तिपूर्ण सहअस्तित्व र साझा हितमा आधारित उदाहरणीय छिमेकी सम्बन्धका रूपमा विकसित भएको उल्लेख गरिएको छ।

राजनीतिक प्रणाली, भौगोलिक आकार र विकासको स्तर फरक भए पनि समानता र आपसी सम्मानका आधारमा नेपाल र चीनले निर्माण गरेको मित्रता अन्तर्राष्ट्रिय समुदायका लागि प्रेरणादायी रहेको समाजले जनाएको छ।

दुई देशबीच उच्चस्तरीय राजनीतिक विश्वास, विकास साझेदारी, पूर्वाधार सम्पर्क, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य, संस्कृति र जनस्तरीय आदानप्रदान निरन्तर विस्तार भइरहेकोमा प्रसन्नता व्यक्त गर्दै नेपालको आर्थिक रूपान्तरण र समृद्धिका प्रयासमा चीनको सहयोग महत्त्वपूर्ण रहेको सन्देशमा उल्लेख छ।

समाजले चीनको सार्वभौमिकता, राष्ट्रिय एकता र भौगोलिक अखण्डतासँग सम्बन्धित विषयप्रति पूर्ण सम्मान व्यक्त गर्दै गलत सूचना, भ्रम र अनुचित बाह्य प्रभावबाट मुक्त पारदर्शी तथा विश्वासपूर्ण सम्बन्ध विस्तार गर्न नागरिक संस्था, सञ्चार क्षेत्र, प्राज्ञिक समुदाय र युवा पुस्ताबीचको सहकार्य सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ।

राजदूत चाङको कार्यकालमा राजनीतिक विश्वासलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्ने, दुवै देशका जनताले प्रत्यक्ष लाभ पाउने परियोजना अघि बढाउने तथा सभ्यतागत, सांस्कृतिक र जनस्तरीय सम्पर्क विस्तार गर्ने कार्यले थप गति लिने अपेक्षा समाजले गरेको छ।

नेपाल–चीन पारस्परिक सहयोग समाजले चिनियाँ राजदूतावाससँग मित्रता, आपसी समझदारी, जनस्तरीय सम्पर्क र पारस्परिक हितका क्षेत्रमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

अध्यक्ष पौडेलले नेपाल–चीन सम्बन्ध आगामी दिनमा अझ प्रगाढ, परिणाममुखी र जनकेन्द्रित बनोस् भन्दै राष्ट्रपति सीको सुस्वास्थ्य, दीर्घायु तथा सफल नेतृत्व र राजदूत चाङको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button