सामाजिक सद्भावका लागि देशव्यापी र्याली अभियान चलाउने नेकपाको निर्णय

ड्रागन मिडिया सम्वाददाता
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सामाजिक सद्भाव कायम राख्न देशव्यापी सद्भाव र्याली अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको बैठकले कोशी र मधेस प्रदेशमा देखिएको साम्प्रदायिक तनाव नियन्त्रण गर्न सरकारले प्रभावकारी नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको निष्कर्ष निकालेको हो।
नेकपा नेता देवेन्द्र पौडेलका अनुसार बैठकले सामाजिक सद्भाव कायम गर्न सार्वजनिक अपिल जारी गर्नुका साथै बुद्धिजीवी, सामाजिक अगुवा, नागरिक समाज र पार्टी पङ्क्तिलाई अभियानमा सहभागी गराउने निर्णय गरेको छ।
“सामाजिक सद्भावका लागि पहल गर्ने निर्णय भएको छ। साम्प्रदायिक तनावले राष्ट्रियतामाथि नै खतरा उत्पन्न गर्न सक्ने भएकाले सद्भाव र्याली आयोजना गर्ने र बुद्धिजीवी तथा सामाजिक अगुवालाई समेत सक्रिय भूमिकाका लागि आग्रह गर्ने निर्णय गरेका छौँ,” पौडेलले भन्नुभयो।
बैठकले नेकपा एमालेसँग भएको तीनबुँदे सहमति कार्यान्वयन गर्दै प्रदेशहरूमा वामपन्थी नेतृत्वको सरकार निर्माणका लागि पहल गर्ने निर्णय पनि गरेको छ।
वामपन्थी दलहरूको मात्र समर्थनबाट सरकार बन्न नसक्ने प्रदेशमा अन्य राजनीतिक दलसँग संवाद र सहकार्य अघि बढाउने निर्णय भएको पौडेलले जानकारी दिनुभयो।
यसैगरी, जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको पार्टी केन्द्रीय कार्यालय पुनर्निर्माण गर्ने निर्णय पनि बैठकले गरेको छ।
पार्टीले बाह्य रूपमा चन्दा सङ्कलन नगरी आफ्नै नेता, कार्यकर्ता र सदस्यहरूको सहयोग तथा व्यवस्थापनबाट केन्द्रीय कार्यालय निर्माण गर्ने जनाएको छ।
“केन्द्रीय कार्यालय बनाउन सार्वजनिक रूपमा चन्दा नउठाउने निर्णय भएको छ। पार्टी पङ्क्तिलाई व्यवस्थित कार्यालय निर्माणमा योगदान गर्न आह्वान गरिनेछ,” पौडेलले भन्नुभयो।





