१९ भाद्र २०८३, शुक्रबार

सद्भावविरोधी २५ सामग्रीमाथि अनुसन्धान गर्न साइबर ब्युरोलाई पत्राचार

ड्रागन मिडिया सम्वाददाता

प्रेस काउन्सिल नेपालले धार्मिक तथा साम्प्रदायिक सद्भावमा प्रतिकूल असर पार्ने गम्भीर प्रकृतिका २५ वटा सामग्रीमाथि अनुसन्धान गरी आवश्यक कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ।

सुनसरीको कप्तानगञ्जमा भएको घटनापछि देशका केही भागमा तनाव बढिरहेका बेला विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीको अनुगमन गरी उक्त कदम चालिएको काउन्सिलले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ।

काउन्सिलका अनुसार घटनासँग सम्बन्धित २०७ वटा सामग्रीको स्वअनुगमन गर्दा पत्रकार आचारसंहिताविपरीत देखिएका ९० वटा सामग्री पहिचान भएका छन्।

तीमध्ये ३४ वटा सञ्चारमाध्यमका ५९ र दर्ता नभएका दुईवटा सामाजिक सञ्जालका दुई सामग्री तत्काल हटाउन टेलिफोनमार्फत निर्देशन दिइएको थियो। निर्देशनपछि ३१ वटा सञ्चारमाध्यम र दर्ता नभएका दुई सामाजिक सञ्जालले सामग्री हटाएर काउन्सिललाई जानकारी गराएका छन्।

सञ्चारमाध्यमसँग आबद्ध नभएका २० सामाजिक सञ्जालमध्ये १८ वटाबाट सम्प्रेषित २५ वटा गम्भीर प्रकृतिका सामग्रीमाथि अनुसन्धान तथा कारवाहीका लागि साइबर ब्युरोलाई पत्राचार गरिएको काउन्सिलले जनाएको छ। निर्देशन पालना नगरेका चारवटा सञ्चारमाध्यमलाई पुनः निर्देशन दिइएको छ।

अनुगमनका क्रममा केही सामाजिक सञ्जाल सञ्चालकलाई धार्मिक तथा साम्प्रदायिक सद्भावमा असर पार्ने, हिंसा र घृणा फैलाउने सामग्री हटाउन आग्रह गरिए पनि आर्थिक लाभ अर्थात ‘मोनिटाइजेसन’ घट्ने कारण देखाउँदै हटाउन अस्वीकार गरेको पाइएको काउन्सिलले जनाएको छ।

मानवीय संवेदनाभन्दा आर्थिक लाभलाई प्राथमिकता दिने यस्तो प्रवृत्ति सामाजिक उत्तरदायित्व र पत्रकारिताको मूल मर्मविपरीत रहेको भन्दै काउन्सिलले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ। त्यस्ता सामग्री तथा सम्बन्धित सामाजिक सञ्जाल खातामाथि आवश्यक अनुसन्धान र कारवाहीका लागि साइबर ब्युरोलगायत सम्बन्धित निकायसँग समन्वय गरिएको छ।

काउन्सिलले समाचार, तस्बिर, भिडियो वा अन्य सामग्री सम्प्रेषण गर्दा तथ्य, सन्तुलन, मानवीय संवेदनशीलता, धार्मिक तथा साम्प्रदायिक सद्भाव र सामाजिक हितलाई प्राथमिकता दिन आग्रह गरेको छ।

अपूर्ण, भ्रामक वा उत्तेजक सामग्रीले समाजमा हिंसा, त्रास, द्वेष र भ्रम फैलाउन सक्ने भन्दै कुनै सामग्री प्रकाशन वा साझा गर्नुअघि त्यसको सत्यता पुष्टि गर्न, सम्भावित प्रभावबारे विचार गर्न तथा धार्मिक, जातीय वा साम्प्रदायिक सद्भावमा प्रतिकूल असर पर्ने सामग्री सम्प्रेषण नगर्न काउन्सिलले सञ्चारमाध्यम, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनुरोध गरेको छ।

प्रेस काउन्सिल नेपालका सहप्रवक्ता तथा सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा वर्तमान संवेदनशील अवस्थामा सबै पक्षलाई संयम, जिम्मेवारी र मानवीय संवेदनशीलता अपनाउँदै सामाजिक सद्भाव कायम राख्न सञ्चारमाध्यमको जिम्मेवार भूमिकामा सहयोग पुर्‍याउन आग्रह गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button