नेपालको वायुअन्तरिक्ष र अन्तरिक्ष प्रविधि विकासबारे काठमाडौँमा विज्ञ संवाद

ड्रागन मिडिया समाचार कक्ष
नेपालको वायुअन्तरिक्ष, खगोल विज्ञान र अन्तरिक्ष प्रविधि क्षेत्रको विकासका अवसर, चुनौती तथा सम्भावनाबारे काठमाडौँमा विज्ञस्तरीय छलफल आयोजना गरिएको छ।
नेपाल–रुस विज्ञान तथा प्रविधि समाजले काठमाडौँस्थित रुसी हाउस र ‘द स्क्वाड अफ चेन्ज मेकर्स’सँगको सहकार्यमा जुलाई ३१ मा ‘वायुअन्तरिक्ष, खगोल विज्ञान तथा अन्तरिक्ष प्रविधि भेटघाट’ आयोजना गरेको हो।
काठमाडौँस्थित रुसी हाउसमा सम्पन्न कार्यक्रममा अनुसन्धानकर्ता, सरकारी अधिकारी, विद्यार्थी, वैज्ञानिक तथा प्रविधिमा रुचि राख्ने युवाको सहभागिता थियो। सहभागीले वैज्ञानिक अनुसन्धान, नवप्रवर्तन, नीतिगत विकास, दक्ष जनशक्ति निर्माण र अन्तर्राष्ट्रिय सहकार्यका माध्यमबाट नेपालको वायुअन्तरिक्ष तथा अन्तरिक्ष प्रविधि क्षेत्र अघि बढाउन सकिने विषयमा छलफल गरेका थिए।
नेपाल–रुस विज्ञान तथा प्रविधि समाजका अध्यक्ष तथा पूर्वमन्त्री गणेश शाहको नेतृत्वमा कार्यक्रम सञ्चालन भएको थियो। पूर्वसोभियत संघका विश्वविद्यालयबाट अध्ययन गर्नुभएका शाहले नेपाल र रुसबीच विज्ञान तथा प्रविधिका क्षेत्रमा संस्थागत सम्बन्ध सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।
उहाँले विज्ञान, अनुसन्धान र प्रविधिको विकासमा युवा पुस्तालाई सक्रिय रूपमा सहभागी गराउनुपर्ने बताउँदै अन्तर्राष्ट्रिय सहकार्यबाट नेपालको प्राविधिक क्षमता विस्तार गर्न सकिने धारणा राख्नुभयो।
काठमाडौँस्थित रुसी हाउसकी निर्देशक अनास्तासिया खोखलोभाले स्वागत मन्तव्यका क्रममा नेपाल र रुसबीच शिक्षा, विज्ञान र संस्कृतिका क्षेत्रमा भइरहेको सहकार्यको महत्त्वबारे चर्चा गर्नुभयो। उहाँले वैज्ञानिक तथा प्राज्ञिक आदानप्रदानले दुई देशबीचको जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभयो।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानअन्तर्गत अन्तरिक्ष अनुसन्धान केन्द्रका प्रमुख डा. हरिराम श्रेष्ठले मुख्य प्रस्तुति दिनुभएको थियो। उहाँले अन्तरिक्ष अनुसन्धान र वैज्ञानिक नवप्रवर्तनका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि तथा युवा वैज्ञानिकलाई सहयोग गर्न प्रतिष्ठानले सञ्चालन गरिरहेका कार्यक्रमबारे जानकारी दिनुभयो।
डा. श्रेष्ठले अन्तरिक्ष विज्ञानमा नेपालको क्षमता विकासका लागि अनुसन्धान पूर्वाधार, दक्ष जनशक्ति, अन्तर्राष्ट्रिय साझेदारी र युवा वैज्ञानिकलाई प्रोत्साहन गर्ने दीर्घकालीन नीति आवश्यक रहेको बताउनुभयो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले नेपालको वर्तमान उड्डयन क्षेत्रको अवस्थाबारे प्रस्तुति दिनुभयो। उहाँले वायुअन्तरिक्ष तथा उड्डयन उद्योगको विकासका लागि प्राविधिक क्षमता, भौतिक पूर्वाधार, अनुसन्धान र प्रभावकारी नीतिगत सहयोग सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा सहभागीले अन्तरिक्ष अनुसन्धान, खगोल विज्ञान शिक्षा, साना भूउपग्रह, उड्डयन प्रविधि, वैज्ञानिक जनशक्ति उत्पादन र अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यबारे प्रश्न, सुझाव तथा सिफारिस प्रस्तुत गरेका थिए।
बैठकको प्रमुख उपलब्धिका रूपमा छलफलमा उठाइएका सबै प्रश्न, सुझाव र सिफारिसलाई एउटै दस्तावेजमा समेटेर विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणमा औपचारिक रूपमा पेश गर्ने घोषणा गरिएको छ।
आयोजकका अनुसार उक्त पहलले सरकार, विज्ञ, अनुसन्धानकर्ता र वैज्ञानिक समुदायबीच रचनात्मक संवाद विस्तार गर्दै नेपालको उदाउँदो वायुअन्तरिक्ष तथा अन्तरिक्ष क्षेत्रमा प्रमाणमा आधारित नीति निर्माणका लागि सहयोग पुर्याउने अपेक्षा गरिएको छ।





