गणेश यादवको परिवार र गृहमन्त्रीबीच सातबुँदे सहमति, सहिद घोषणा प्रक्रिया अघि बढाइने

ड्रागन मिडिया समाचार कक्ष
औरही गाउँपालिका–२, मोतिपुरमा साउन १४ गते भएको घटनामा ज्यान गुमाएका गणेश यादवको परिवार र गृहमन्त्री सुधन गुरुङबीच सातबुँदे सहमति भएको छ।
गृहमन्त्री गुरुङ र मृतकका अभिभावक रामवृक्ष यादवले साउन १५ गते सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो। सहमतिअनुसार यादवलाई नेपाल सरकारबाट सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइनेछ। मृतकको परिवारलाई सरकारका तर्फबाट १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ।
घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम कारवाही प्रक्रिया तत्काल अघि बढाउन गृह मन्त्रालय प्रतिबद्ध भएको सहमतिपत्रमा उल्लेख छ। गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिस पनि यथाशीघ्र कार्यान्वयन गरिनेछ।
मृतकका परिवारका एक योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने तथा स्थानीय सरकारसँगको समन्वयमा औरहीमा यादवको स्मृतिमा पार्क र शालिक निर्माणका लागि आवश्यक पहल गर्ने सहमति भएको छ।
यसैगरी, मृतककी आमा र पत्नीको निःशुल्क शिक्षाको व्यवस्था मिलाइनेछ। परिवारका सदस्यलाई सरकारी अस्पतालमा निःशुल्क उपचार उपलब्ध गराउन पनि गृह मन्त्रालय सहमत भएको छ।
सहमति भएपछि यादवको अन्तिम संस्कार साउन १६ गते बिहान १० बजे गर्ने तय भएको छ।





