१९ भाद्र २०८३, शुक्रबार

सातबुँदे सहमतिपछि कप्तानगञ्ज घटनामा ज्यान गुमाएका दुई युवाको अन्त्येष्टि

ड्रागन मिडिया समाचार कक्ष

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई युवाको शुक्रबार राति अन्त्येष्टि गरिएको छ।

सरकार र पीडित परिवारबीच सातबुँदे सहमति भएपछि पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परिवारको जिम्मा लगाइएको थियो।

देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहता र देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको शव विराटनगरस्थित न्युरो अस्पतालको शवगृहमा राखिएको थियो। बिहीबार मध्यराति सरकार र पीडित पक्षबीच सहमति भएपछि शुक्रबार कोशी अस्पतालमा दुवै शवको पोस्टमार्टम गरिएको हो।

सुनसरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार पोस्टमार्टमपछि कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाइएको थियो। त्यसपछि परिवार, आफन्त र स्थानीयवासीले शवयात्रासहित विराटनगरबाट कप्तानगञ्ज पुर्‍याएर दुवै जनाको अन्त्येष्टि गरेका हुन्।

प्रशासनले लगाएको कर्फ्यु जारी रहेकै अवस्थामा दुवै शव घटनास्थलनजिकै रहेको खाली जमिनमा अन्त्येष्टि गरिएको छ। त्यसअघि कप्तानगञ्ज बजारमा शव राखेर आफन्त तथा स्थानीयवासीले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।

घटना भएको पाँच दिनपछि गृहमन्त्री सुधन गुरुङ कप्तानगञ्ज पुगेर मृतकका परिवारसँग वार्ता गर्नुभएको थियो। वार्तापछि सातबुँदे सहमति भएपछि मात्रै परिवार शव बुझ्न तयार भएको हो।

सहमतिअनुसार सरकारले ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउनेछ। दुवै परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराइने तथा घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम कारवाही अघि बढाइनेछ।

मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, छानबिन समितिको प्रतिवेदनमा समेटिने सुझाव तथा सिफारिस यथाशीघ्र कार्यान्वयन गर्ने र स्थानीय सरकारसँगको समन्वयमा मृतकहरूको सम्झनामा उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने विषय पनि सहमतिमा समेटिएको छ।

सहमतिपत्रमा पीडित परिवारका तर्फबाट ओमप्रकाश मेहताका अभिभावक र जयप्रकाश मेहताका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन्। सरकारका तर्फबाट गृहमन्त्री गुरुङले हस्ताक्षर गर्नुभएको छ।

आइतबार राति प्रहरीसँग भएको झडपमा ओमप्रकाशको ज्यान गएको थियो। उपचाररत जयप्रकाशको बिहीबार दिउँसो मृत्यु भएको हो।

झडपमा घाइते भएका अन्य सात जनाको विराटनगरस्थित न्युरो अस्पताल र विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइतेमध्ये एक जनालाई थप उपचारका लागि शुक्रबार काठमाडौँ लगिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button