१७ भाद्र २०८३, बुधबार

राष्ट्रपति सी चिनफिङलाई नेपाल–चीन पारस्परिक सहयोग समाजको शुभकामना

ड्रागन मिडिया सम्वाददाता

नेपाल–चीन पारस्परिक सहयोग समाजले चिनियाँ जनमुक्ति सेनाको ९९ औँ स्थापना दिवस तथा चीनको सेना दिवसका अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङसमक्ष औपचारिक शुभकामना सन्देश पठाएको छ।

समाजका अध्यक्ष प्रेम सागर पौडेलले राष्ट्रपति सीलाई पठाउनुभएको सन्देशमा चिनियाँ सरकार, चिनियाँ जनमुक्ति सेनाका सम्पूर्ण अधिकारी तथा जवान र मित्रवत चिनियाँ जनताप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।

सन्देशमा सन् १९२७ मा स्थापना भएदेखि चिनियाँ जनमुक्ति सेनाले चीनको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, सुरक्षा, स्थायित्व तथा विकासका उपलब्धिको संरक्षणमा ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको उल्लेख गरिएको छ।

राष्ट्रपति सीको नेतृत्वमा चीनले राष्ट्रिय प्रतिरक्षा आधुनिकीकरण, वैज्ञानिक तथा प्राविधिक नवप्रवर्तन र विश्वस्तरीय सशस्त्र सेना निर्माणको दिशामा महत्वपूर्ण प्रगति हासिल गरिरहेको सन्देशमा उल्लेख छ।

अध्यक्ष पौडेलले विपद उद्धार, मानवीय सहायता, संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना र अन्तर्राष्ट्रिय सुरक्षा सहकार्यमा चिनियाँ जनमुक्ति सेनाले पुर्‍याउँदै आएको योगदानले विश्व शान्ति, स्थिरता र साझा सुरक्षाप्रतिको चीनको प्रतिबद्धता प्रतिबिम्बित गरेको बताउनुभएको छ।

नेपाल र चीन हिमाल, इतिहास र प्राचीन सभ्यताले जोडिएका निकट छिमेकी, विश्वसनीय मित्र तथा सहयोगी साझेदार भएको उल्लेख गर्दै सन्देशमा पञ्चशीलका सिद्धान्त, सार्वभौमिक समानता, शान्तिपूर्ण सहअस्तित्व तथा एकअर्काका मूलभूत हित र प्रमुख चासोप्रतिको सम्मान द्विपक्षीय सम्बन्धका स्थायी आधार रहेको जनाइएको छ।

नेपाल–चीन पारस्परिक सहयोग समाज दुई देशबीचको परम्परागत मित्रता, जनस्तरीय सम्बन्ध, सांस्कृतिक आदानप्रदान र पारस्परिक लाभमा आधारित सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको अध्यक्ष पौडेलले बताउनुभएको छ।

उहाँले राष्ट्रपति सीको नेतृत्वमा नेपाल–चीन सम्बन्धले आगामी दिनमा थप गहिराइ, पारस्परिक विश्वास र व्यावहारिक उपलब्धि हासिल गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ।

सन्देशमा चिनियाँ जनमुक्ति सेनाले सन् २०२७ को शतवार्षिकी लक्ष्य प्राप्त गर्ने यात्रामा पूर्ण सफलता हासिल गरोस् तथा जनवादी गणतन्त्र चीन र चिनियाँ जनतामा निरन्तर शान्ति, समृद्धि र प्रगति कायम रहोस् भन्ने कामना गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button