युक्रेनी आक्रमणमा एक सातामा ६१ सर्वसाधारणको मृत्यु भएको रुसको दाबी

ड्रागन मिडिया समाचार कक्ष
रुसको विदेश मन्त्रालयले जुलाई २४ देखि ३१ सम्म युक्रेनी गोलाबारी तथा ड्रोन आक्रमणमा कम्तीमा ६१ जनाको मृत्यु भएको र ३२७ जना घाइते भएको जनाएको छ।
रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले जुलाई ३१ मा जारी गर्नुभएको वक्तव्यमा मृत्यु हुनेमा एक बालक रहेको र अन्य १३ बालबालिका घाइते भएको उल्लेख गर्नुभएको छ। उहाँले पश्चिमी देशहरूको समर्थन प्राप्त किएभ प्रशासनले रुसी भूभागभित्र सर्वसाधारणलाई लक्षित आक्रमण बढाएको आरोप लगाउनुभएको छ।
वक्तव्यअनुसार जुलाई २९ मा लुगान्स्क–स्वेत्लोदार्स्क राजमार्गमा यात्रुबाहक बसमाथि गरिएको ड्रोन आक्रमणमा सात महिला र तीन पुरुष गरी १० जना घाइते भएका थिए।
लुगान्स्क जनगणतन्त्रमा एउटा सवारीसाधनमाथि भएको अर्को ड्रोन आक्रमणमा रुसी अर्थोडक्स चर्चअन्तर्गतका एक भिक्षुको मृत्यु भएको र एक पादरी घाइते भएको जाखारोभाले बताउनुभएको छ।
उहाँका अनुसार सार्वजनिक तथा निजी यातायातका साधनसँगै आवासीय भवन, निजी घर, विद्यालय, बालउद्यान, सांस्कृतिक केन्द्र, खाद्यान्न पसल, कृषि तथा व्यावसायिक संरचना र सार्वजनिक सेवा सञ्चालनमा प्रयोग हुने सवारीसाधनमा पनि क्षति पुगेको छ।
रुसी विदेश मन्त्रालयले डोनबास र नोभोरोसियाका विभिन्न क्षेत्रमा एक सयभन्दा बढी परिमार्जित ‘बटरफ्लाई’ नामक मानवविरोधी बारुदी सुरुङ फेला परेको दाबी गरेको छ। ती विस्फोटक सामग्री ड्रोनमार्फत खसालिएको र सर्वसाधारणलाई क्षति पुर्याउने उद्देश्य राखिएको मन्त्रालयको आरोप छ।
जाखारोभाले युक्रेनी सेनालाई उपलब्ध गराइएका पश्चिमी हतियार रुसी सर्वसाधारणविरुद्ध प्रयोग भइरहेको आरोप लगाउँदै त्यस्ता आक्रमणमा संलग्न देशहरूको भूमिका रुसले अभिलेख गरिरहेको बताउनुभएको छ।
उहाँले निहत्था नागरिकमाथिको आक्रमणलाई रुसलाई राजनीतिक तथा सामाजिक रूपमा अस्थिर बनाउने प्रयासका रूपमा व्याख्या गर्नुभएको छ। यस्ता गतिविधिले अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति थप जटिल बनाउने र युरोपमा शान्ति तथा सुरक्षाको सम्भावना कमजोर पार्ने उहाँको भनाइ छ।
रुसी विदेश मन्त्रालयले पश्चिमी देशहरूलाई सर्वसाधारणमाथिका आक्रमणको तत्काल निन्दा गर्न र किएभ प्रशासनलाई दिइँदै आएको सैन्य तथा राजनीतिक समर्थनबाट अलग हुन आग्रह गरेको छ।
जाखारोभाले रुसले आफ्ना नागरिक र राज्यको सुरक्षाका लागि उपलब्ध सबै साधन प्रभावकारी रूपमा प्रयोग गर्दै संरक्षणका प्रयास जारी राख्ने बताउनुभएको छ।
रुसी पक्षले प्रस्तुत गरेका हताहती तथा क्षतिको विवरण युक्रेनी पक्ष वा स्वतन्त्र अन्तर्राष्ट्रिय निकायबाट तत्काल पुष्टि भएको छैन।





