मधेसको तनाव कम गर्न जनकपुरमा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच वार्ता

ड्रागन मिडिया सम्वाददाता
मधेस प्रदेशका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थालाई सामान्य बनाउने प्रयासस्वरूप गृहमन्त्री सुधन गुरुङले शनिबार धनुषाको जनकपुरमा आन्दोलनरत पक्षसँग वार्ता सुरु गर्नुभएको छ।
गृहमन्त्री गुरुङले हिन्दु सम्राट सेनासहित आन्दोलनमा सहभागी विभिन्न समूहका प्रतिनिधिसँग छलफल अघि बढाउनुभएको हो। वार्तामा शान्ति सुरक्षा कायम गर्ने, निषेधाज्ञा हटाउन अनुकूल वातावरण बनाउने तथा समुदायबीचको तनाव न्यूनीकरण गर्ने विषयलाई प्राथमिकता दिइएको बताइएको छ।
गत साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा दुई युवकको मृत्यु भएपछि त्यसको प्रभाव मधेस प्रदेशका विभिन्न जिल्लासम्म फैलिएको थियो। घटनाको विरोधमा प्रदर्शन चर्किँदै जाँदा प्रशासनले संवेदनशील क्षेत्रमा कर्फ्यु र निषेधाज्ञा जारी गरेको थियो।
यसै क्रममा सिरहामा हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न विवादले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा थप एक किशोरको ज्यान गएको थियो। त्यसपछि मधेसका विभिन्न स्थानमा प्रदर्शन, तोडफोड र सडक अवरोधका घटना भएका थिए।
स्थानीय प्रशासनले अवस्था क्रमशः सुधार भएको निष्कर्षसहित केही जिल्लाबाट कर्फ्यु हटाए पनि सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै निषेधाज्ञा भने पूर्ण रूपमा फिर्ता लिएको छैन।
सरकारले आन्दोलनरत पक्षसँगको संवादमार्फत विवादको शान्तिपूर्ण समाधान खोज्ने र प्रभावित क्षेत्रमा सामाजिक सद्भाव पुनःस्थापित गर्ने प्रयास अघि बढाएको छ।





