१९ भाद्र २०८३, शुक्रबार

उच्चभूमिका जातीय पोषाकको भव्य प्रतिस्पर्धा ब्राग्मोमा सम्पन्न

ड्रागन मिडिया समाचार कक्ष

उच्चभूमिका विभिन्न जातीय समुदायका परम्परागत तथा आधुनिक पोषाकको सौन्दर्य, सांस्कृतिक अर्थ र हस्तकलालाई प्रस्तुत गर्ने तेस्रो उच्चभूमि जातीय पोषाक प्रदर्शनी तथा प्रतिस्पर्धा ब्राग्मो काउन्टीमा सम्पन्न भएको छ।

जुलाई २६ मा आयोजित कार्यक्रमलाई तेदर पोषाक प्रदर्शनी केन्द्र, ब्राग्मो काउन्टी अमूर्त सांस्कृतिक सम्पदा हस्तकला औद्योगिक पार्कलगायत संस्थाले सहयोग गरेका थिए। गीत–सङ्गीत र हस्तकलाको भूमि मानिने ब्राग्मोमा आयोजित प्रतिस्पर्धामा विभिन्न क्षेत्रका पोषाक निर्माता, कलाकार र सांस्कृतिक प्रतिनिधिहरू सहभागी भएका थिए।

सहभागीहरूले आफूले लगाएका पोषाकको ऐतिहासिक पृष्ठभूमि, स्थानीय विशेषता, निर्माण विधि र सांस्कृतिक महत्वबारे जानकारी गराउँदै आकर्षक शैलीमा प्रदर्शन गरेका थिए। मञ्चीय प्रस्तुति र अनलाइन प्रत्यक्ष प्रसारणमार्फत दर्शकले उच्चभूमिका विविध जातीय पोषाकको सौन्दर्य अवलोकन गरेका थिए।

प्रतिस्पर्धामा सिचाङको उ–त्साङ, आम्दो र खाम क्षेत्रबाट आएका २९ समूह सहभागी भएका थिए। परम्परागत पोषाक विधामा सिचाङको ङारीस्थित गेग्याइ काउन्टीबाट सहभागी देकी डोल्माको समूहले प्रथम स्थान हासिल गरेको छ। आधुनिक पोषाक विधामा ब्राग्मो काउन्टीकी देकी ल्हामो प्रथम हुनुभएको छ।

आयोजकका अनुसार प्रतिस्पर्धासँगै चौथो पोषाक संस्कृति विचार–गोष्ठी पनि आयोजना गरिएको थियो। गोष्ठीमा जातीय पोषाक संस्कृतिको संरक्षण, पुस्तान्तरण र समसामयिक विकासबारे विज्ञ, अनुसन्धानकर्ता र हस्तकलाकर्मीले छलफल गरेका थिए।

कार्यक्रममा ग्यारोङ र देचेन क्षेत्रका पोषाक संस्कृतिसम्बन्धी दुई नयाँ पुस्तकसमेत सार्वजनिक गरिएको थियो। ती पुस्तकमा सम्बन्धित क्षेत्रका परम्परागत पोषाक, अलङ्कार, निर्माण शीप र सांस्कृतिक पहिचानबारे विवरण समेटिएको जनाइएको छ।

यसै अवसरमा उच्चभूमिका महिलाको स्वास्थ्य तथा उद्यमशीलता प्रवर्द्धनसम्बन्धी दोस्रो सम्मेलन पनि आयोजना गरिएको थियो। महिला स्वास्थ्यका क्षेत्रमा कार्यरत विज्ञ र विभिन्न पेशामा सफलता हासिल गरेका महिलाले स्वास्थ्य संरक्षण, उद्यम स्थापना, आर्थिक आत्मनिर्भरता र सामाजिक सहभागिताबारे अनुभव तथा सुझाव साझा गरेका थिए।

आयोजकहरूले ब्राग्मोको उच्चभूमि जातीय पोषाक प्रतिस्पर्धा अब केवल पोषाक प्रदर्शनमा सीमित नरही जातीय संस्कृतिको संरक्षण, हस्तकला शीपको प्रवर्द्धन, महिला उद्यमशीलता र स्थानीय सांस्कृतिक पर्यटनको विकास गर्ने महत्वपूर्ण मञ्चका रूपमा स्थापित हुँदै गएको बताएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button