दक्षिण अष्ट्रेलियामा ८४ समुद्री चरा मृत तथा बिरामी अवस्थामा फेला

ड्रागन मिडिया समाचार कक्ष
अष्ट्रेलियाको दक्षिण अष्ट्रेलिया राज्यको दक्षिणपूर्वी तट नजिकैको एक टापुमा ८० भन्दा बढी ग्रेटर क्रेस्टेड टर्न प्रजातिका चरा मृत तथा बिरामी अवस्थामा फेला परेपछि राज्यका अधिकारीहरूले अनुसन्धान शुरु गरेका छन्।
अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) का अनुसार ती चरामा एच–५ प्रजातिको एभियन इन्फ्लुएन्जा अर्थात् बर्डफ्लु सङ्क्रमण भए–नभएको पुष्टि गर्न प्रयोगशाला परीक्षण भइरहेको छ।
राज्य सरकारले शुक्रबार गरेको हवाई निगरानीका क्रममा केप जाफाबाट करिब पाँच किलोमिटर दक्षिणमा रहेको बाउडिन रक्समा ४९ वटा चरा मृत र ३५ वटा बिरामी अवस्थामा फेला पारेको थियो।
दक्षिण अष्ट्रेलियाकी प्रमुख पशुचिकित्सा अधिकारी स्काइ फ्रुएनले प्रयोगशाला परीक्षणको अन्तिम नतिजा आउन बाँकी रहे पनि चरामा एच–५ सङ्क्रमण नदेखिने सम्भावना अत्यन्त कम रहेको बताउनुभएको छ।
आधिकारिक विवरणअनुसार अष्ट्रेलियामा हालसम्म पुष्टि भएका ५३ एच–५ बर्डफ्लु घटनामध्ये ३९ वटा दक्षिण अष्ट्रेलिया राज्यमै अभिलेख भएका छन्।
अष्ट्रेलियाकी प्रमुख पशुचिकित्सा अधिकारी बेथ कुकसनले घटनाको निगरानी भइरहेको उल्लेख गर्दै कृषि क्षेत्र र मानव स्वास्थ्यमा तत्काल जोखिम भने न्यून रहेको बताउनुभएको छ।
अधिकारीहरूले प्रभावित क्षेत्रमा निगरानी तथा नमुना सङ्कलन जारी राखेका छन्। प्रयोगशाला नतिजा प्राप्त भएपछि चराको सामूहिक मृत्युको वास्तविक कारणबारे थप विवरण सार्वजनिक गरिने अपेक्षा गरिएको छ।





