स्वच्छ ऊर्जामा चीन–दक्षिण अफ्रिका सहकार्य विस्तार, १५५ मेगावाटको पवन आयोजना सञ्चालनमा

ड्रागन मिडिया समाचार कक्ष
दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले स्वच्छ ऊर्जा क्षेत्रमा चीन र दक्षिण अफ्रिकाबीचको सहकार्य तीव्र रूपमा विस्तार भइरहेको बताउँदै चिनियाँ कम्पनी गोल्डविन्डको सहभागिताले देशको न्यायोचित ऊर्जा रूपान्तरणमा महत्वपूर्ण सहयोग पुगेको उल्लेख गर्नुभएको छ।
दक्षिण अफ्रिकाको मपुमालाङ्गा प्रान्तमा निर्माण गरिएको १५५ मेगावाट क्षमताको उम्मबिला इमोयेनी पवन ऊर्जा आयोजनाको व्यावसायिक सञ्चालन शुभारम्भ समारोहलाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति रामाफोसाले नवीकरणीय ऊर्जा विकासमा चिनियाँ कम्पनीहरूको सहभागितालाई दक्षिण अफ्रिकाले स्वागत गर्ने बताउनुभएको हो।
आयोजनाका पवन टर्बाइन आपूर्ति र सञ्चालनमा ल्याउने जिम्मेवारी निर्वाह गरेको गोल्डविन्डलाई उल्लेख गर्दै उहाँले यो कम्पनी चीनसँग दक्षिण अफ्रिकाको विकसित सम्बन्धबाट अघि बढिरहेको साझेदार भएको बताउनुभएको छ।
राष्ट्रपति रामाफोसाका अनुसार दक्षिण अफ्रिकाको भावी ऊर्जा प्रणालीमा कोइला, पवन, जलविद्युत, आणविक, सौर्य, ग्यास तथा उदीयमान प्रविधिको संयुक्त प्रयोग गरिनेछ। ऊर्जा सुरक्षा सुनिश्चित गर्दै कार्बन उत्सर्जन घटाउने लक्ष्य हासिल गर्न उपलब्ध प्राकृतिक श्रोत र नयाँ सम्भावनालाई सन्तुलित रूपमा उपयोग गरिने उहाँको भनाइ छ।
कार्यक्रममा दक्षिण अफ्रिकाका लागि चिनियाँ राजदूत वु फङले आयोजना व्यावसायिक सञ्चालनमा आएकोमा बधाई दिँदै चीन–दक्षिण अफ्रिका सहकार्यलाई निरन्तर समर्थन गर्ने सबै पक्षप्रति आभार व्यक्त गर्नुभएको छ।
उहाँले उत्तरी केप प्रान्तको डी आर पवन ऊर्जा आयोजनालगायत सफल परियोजनाको उदाहरण प्रस्तुत गर्दै चिनियाँ कम्पनीहरू दक्षिण अफ्रिकामा अस्थायी रूपमा आएका बाह्य कम्पनी मात्र नभई स्थानीय विकासमा गहिरोसँग जोडिएका साझेदार बनेको बताउनुभएको छ।
राजदूत वुका अनुसार दक्षिण अफ्रिकाको आर्थिक तथा सामाजिक विकासमा योगदान गर्ने चिनियाँ कम्पनीहरूको सङ्ख्या निरन्तर बढिरहेको छ।
उम्मबिला इमोयेनी पवन ऊर्जा आयोजना मपुमालाङ्गा प्रान्तको परम्परागत कोइला उत्पादन क्षेत्र बेथल, डेभेल र मोर्गेन्जोनबीच अवस्थित छ। यो दक्षिण अफ्रिकी कम्पनी सेरिटी ग्रीनले योजना बनाएको ९०० मेगावाट क्षमताको नवीकरणीय ऊर्जा कार्यक्रमको पहिलो चरण हो।
आयोजनाबाट उत्पादित स्वच्छ विद्युत सेरिटीका खानी सञ्चालनमा आपूर्ति गरिनेछ। यसले दक्षिण अफ्रिकाको राष्ट्रिय ऊर्जा प्रणालीलाई थप विविध, भरपर्दो र सङ्कट सामना गर्न सक्षम बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
गोल्डविन्डका अध्यक्ष वु काङले सिन्ह्वा समाचार संस्थासँग कुरा गर्दै चिनियाँ प्रविधि र स्थानीय साझेदारीले दक्षिण अफ्रिकाको ऊर्जा रूपान्तरणलाई कसरी गति दिन सक्छ भन्ने उदाहरण आयोजनाले प्रस्तुत गरेको बताउनुभएको छ।
उहाँले दक्षिण अफ्रिकी साझेदारसँग मिलेर स्वच्छ ऊर्जा विकास र दिगो आर्थिक वृद्धिमा योगदान गर्न पाउनु चिनियाँ कम्पनीका लागि गौरवको विषय भएको उल्लेख गर्नुभएको छ।
चीन–अफ्रिका व्यावसायिक सहकार्यले लगानी, प्रविधि र नवप्रवर्तनका नयाँ अवसर सिर्जना गरिरहेको बताउँदै वु काङले गोल्डविन्डले आगामी वर्षहरूमा दक्षिण अफ्रिकाका थप नवीकरणीय ऊर्जा तथा ऊर्जा रूपान्तरण आयोजनामा लगानी विस्तार गर्ने योजना बनाएको जानकारी दिनुभएको छ।





