१९ भाद्र २०८३, शुक्रबार

ह्वाङयान ताओ क्षेत्रमा चिनियाँ जनमुक्ति सेनाको संयुक्त समुन्द्री–हवाई अभ्यास

ड्रागन मिडिया समाचार कक्ष

चिनियाँ जनमुक्ति सेनाको दक्षिणी थिएटर कमान्डले शनिबार चीनको ह्वाङयान ताओको भूक्षेत्रीय समुन्द्र, आकाश तथा आसपासका समुन्द्री र हवाई क्षेत्रमा संयुक्त अभ्यास सञ्चालन गरेको छ।

दक्षिण चीन समुन्द्रको वर्तमान अवस्था तथा क्षेत्रीय शान्ति र स्थिरतालाई कमजोर पार्ने केही देशका गतिविधिप्रतिको प्रतिक्रियास्वरूप अभ्यास गरिएको दक्षिणी थिएटर कमान्डले आफ्नो आधिकारिक विच्याट खातामार्फत जनाएको छ।

कमान्डका अनुसार अभ्यासको उद्देश्य चीनको भूक्षेत्रीय सार्वभौमिकता तथा समुन्द्री अधिकार र हित संरक्षण गर्ने सैनिकहरूको व्यावहारिक क्षमता परीक्षण तथा सुदृढ गर्नु हो।

ग्लोबल टाइम्सले प्राप्त गरेको दृश्य सामग्रीमा वाईजे–१२ सुपरसोनिक जहाजविरोधी क्षेप्यास्त्रसहितका एच–६के बमवर्षक विमान अभ्यासमा सहभागी भएको देखिएको छ। चिनियाँ नौसेनाको टाइप–०७१ उभयचर यातायात डक जहाज, टाइप–०५४ए फ्रिगेट तथा टाइप–०५६ए युद्धपोत पनि अभ्यास क्षेत्रमा परिचालित भएका थिए।

टाइप–०७१ जहाजबाट जेड–२०जे र जेड–८सी हेलिकोप्टरले उडान भर्दै ह्वाङयान ताओ आसपासका क्षेत्रमा सञ्चालनात्मक अभ्यास गरेका थिए। टाइप–७२६ एयर–कुसन ल्यान्डिङ क्राफ्ट पनि सोही जहाजबाट सञ्चालन गरिएको थियो।

चिनियाँ सैन्य विश्लेषकहरूले उक्त गतिविधिलाई समुन्द्री र हवाई शक्तिबीचको समन्वयमा आधारित आपत्कालीन प्रतिक्रिया, द्रुत परिचालन तथा भूक्षेत्रीय अधिकार संरक्षण क्षमताको प्रदर्शनका रूपमा व्याख्या गरेका छन्।

चिनियाँ जनमुक्ति सेनाले अभ्यास कुनै निश्चित देशविरुद्ध लक्षित रहेको औपचारिक रूपमा उल्लेख गरेको छैन। यद्यपि चिनियाँ विज्ञहरूले फिलिपिन्सले पछिल्लो समय विभिन्न बहुपक्षीय समुन्द्री मञ्च तथा संयुक्त राष्ट्रसङ्घीय प्रक्रियामार्फत ह्वाङयान ताओमाथि चीनको सार्वभौमिकतालाई चुनौती दिने प्रयास गरेपछि अभ्यास सञ्चालन गरिएको बताएका छन्।

फिलिपिन्सले हालै आफूले बाजो डे मासिनलोक नामकरण गरेको ह्वाङयान ताओ र आसपासका समुन्द्री क्षेत्रसम्बन्धी नक्सा संयुक्त राष्ट्रसङ्घ सचिवालयमा पेश गरेको थियो। मनिलाले उक्त कदमलाई आफ्नो कथित सामान्य आधाररेखा तथा अधिकार क्षेत्रबारे अन्तर्राष्ट्रिय समुदायलाई औपचारिक जानकारी गराउने कार्यका रूपमा प्रस्तुत गरेको छ।

चिनियाँ विदेश मन्त्रालयले फिलिपिन्सद्वारा चीनको ह्वाङयान ताओ वरपर कथित भूक्षेत्रीय समुन्द्रको आधाररेखा निर्धारण गर्ने कदमलाई चीनको भूक्षेत्रीय सार्वभौमिकतामाथिको गम्भीर अतिक्रमण तथा संयुक्त राष्ट्रसङ्घीय बडापत्र र समुन्द्रसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिसहित अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भनेको छ।

चीनले उक्त कदम अवैध, शून्य र प्रभावहीन रहेको भन्दै त्यसलाई दृढतापूर्वक अस्वीकार गर्ने तथा कहिल्यै स्वीकार नगर्ने स्पष्ट गरेको छ। चीनका अनुसार ह्वाङयान ताओ चिनियाँ भूभाग भएकाले त्यसको भूक्षेत्रीय समुन्द्रको आधाररेखा घोषणा गर्ने अधिकार चीनसँग मात्र छ।

चिनियाँ सैन्य मामिला विज्ञ सोङ चोङपिङले हवाई तथा नौसैनिक शक्तिको संयुक्त परिचालनले चीनसँग आफ्नो राष्ट्रिय सुरक्षा र समुन्द्री हितमा उत्पन्न हुने खतराको सामना गर्ने पर्याप्त प्रतिरोधात्मक क्षमता रहेको सन्देश दिएको बताउनुभएको छ।

उहाँका अनुसार चारवटा वाईजे–१२ सुपरसोनिक जहाजविरोधी क्षेप्यास्त्र बोकेको एच–६के बमवर्षक विमानले फ्रिगेट र डिस्ट्रोयरदेखि ठूला युद्धपोतसम्मका विभिन्न समुन्द्री लक्ष्यविरुद्ध प्रभावकारी कारवाही गर्न सक्छ।

अर्का सैन्य विज्ञ चाङ चुनशले वाईजे–१२ क्षेप्यास्त्रको मारक दूरी करिब चार सयदेखि पाँच सय किलोमिटरसम्म रहेको र यसले ह्वाङयान ताओ आसपासका समुन्द्री क्षेत्र समेट्न सक्ने बताउनुभएको छ।

उहाँका अनुसार उक्त क्षेप्यास्त्रले सम्पूर्ण उडान अवधिमा सुपरसोनिक गति कायम गर्न सक्छ भने अन्तिम प्रवेश चरणमा यसको गति म्याक–४ देखि म्याक–५ सम्म पुग्न सक्छ।

चाङले जेड–८सी हेलिकोप्टर ठूलो सङ्ख्यामा सैनिक र सामग्री परिचालन गर्न प्रयोग हुने तथा जेड–२०जे हेलिकोप्टरले सैनिक ढुवानीसँगै आवश्यक अग्नि सहायता दिन सक्ने बताउनुभएको छ। यी हेलिकोप्टर द्रुत अवतरण, सैनिक परिचालन तथा महत्वपूर्ण स्थान नियन्त्रणमा लिने अभ्यासमा सहभागी भएका थिए।

उहाँका अनुसार बमवर्षक विमान, युद्धपोत, उभयचर जहाज, हेलिकोप्टर र एयर–कुसन ल्यान्डिङ क्राफ्टको संयुक्त परिचालनले चीनको समुन्द्री प्रहार, उभयचर अवतरण तथा विभिन्न सैन्य शाखाबीचको समन्वित सञ्चालन क्षमता प्रदर्शन गरेको छ।

सोङ चोङपिङले हवाई र नौसैनिक दुवै शक्ति परिचालन गरिएको अभ्यासले चीनसँग फिलिपिन्स मात्र नभई अझ शक्तिशाली बाह्य सैन्य शक्तिको सामना गर्नसमेत विभिन्न प्रतिरोधात्मक विकल्प रहेको सन्देश दिएको बताउनुभएको छ।

दक्षिण चीन समुन्द्र अध्ययनसम्बन्धी राष्ट्रिय संस्थानको अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषय अनुसन्धान केन्द्रका निर्देशक तिङ तुओले अभ्यास फिलिपिन्सका पछिल्ला समुन्द्री कूटनीतिक तथा कानुनी गतिविधिप्रति अधिकार संरक्षणमा आधारित प्रत्युत्तर भएको बताउनुभएको छ।

उहाँका अनुसार फिलिपिन्सले आसियान मन्त्रीस्तरीय बैठकअघि चिनियाँ तटरक्षक जहाजसँग तनाव सिर्जना गर्ने गतिविधि गरेको र त्यसपछि ह्वाङयान ताओ वरपर कथित आधाररेखा निर्धारण गर्ने प्रयास गरेको थियो।

यी गतिविधिले मनिलाले ह्वाङयान ताओ र आसपासका क्षेत्रमा आफ्नो दाबीलाई अन्तर्राष्ट्रियकरण तथा विस्तार गर्न खोजेको देखाएको तिङको भनाइ छ।

उहाँले फिलिपिन्सले आफ्ना गतिविधिका लागि बाह्य देशको समर्थन खोजिरहेको भन्दै चीनको प्रत्युत्तर कूटनीतिक वक्तव्यमा मात्र सीमित नहुने बताउनुभएको छ। उहाँले दक्षिण चीन समुन्द्रको सैन्यीकरणलाई बढावा दिने मुख्य पक्ष अमेरिका र फिलिपिन्स भएको टिप्पणीसमेत गर्नुभएको छ।

अमेरिका र जापानले जुलाई २१ देखि २५ सम्म फिलिपिन्ससँग दक्षिण चीन समुन्द्रमा पाँचदिने संयुक्त अभ्यास गरेका थिए। त्यसअघि मे महिनामा अमेरिका र फिलिपिन्सबीच बालिकातान अभ्यास आयोजना गरिएको थियो।

ती अभ्यासका कारण माछा मार्ने तथा कृषि समुदायको जीविकोपार्जन प्रभावित भएको भन्दै फिलिपिन्सभित्रै आलोचना भएको थियो। फिलिपिन्सको राष्ट्रिय अभियन्ता गठबन्धन बयानका महासचिवले आफ्नो देश अमेरिकी सैन्य योजनाबाट टाढा रहनुपर्ने तथा संयुक्त अभ्यास अन्त्य गर्नुपर्ने धारणा राखेका थिए।

चिनियाँ विज्ञहरूले फिलिपिन्स तथा बाह्य शक्तिहरूले आगामी दिनमा नागरिक जहाज, साना विमान र हेलिकोप्टर प्रयोग गरी ह्वाङयान ताओ तथा व्यापक दक्षिण चीन समुन्द्र क्षेत्रमा जोखिम बढाउन सक्ने आकलन गरेका छन्।

पछिल्लो अभ्यासमा हवाई शक्ति समावेश गरिनुलाई फिलिपिन्सले साना यातायात विमान तथा हेलिकोप्टरमार्फत गरेका गतिविधिप्रतिको लक्षित प्रतिक्रियाका रूपमा पनि हेरिएको छ। त्यसैले चिनियाँ समुन्द्री तथा हवाई अभ्यास एकपटकमा सीमित नहुन सक्ने विज्ञहरूको भनाइ छ।

यसअघि बिहीबार चिनियाँ जनमुक्ति सेनाको दक्षिणी थिएटर कमान्ड र चिनियाँ तटरक्षक बलले ह्वाङयान ताओको भूक्षेत्रीय समुन्द्र, आकाश तथा आसपासका क्षेत्रमा गस्ती र निरीक्षण गरेका थिए।

चिनियाँ विज्ञहरूका अनुसार भविष्यमा ह्वाङयान ताओ क्षेत्रमा तटरक्षक बल र जनमुक्ति सेनाको कानुनी अधिकार संरक्षण, गस्ती, निगरानी तथा सुरक्षा अभ्यास थप नियमित र लक्षित रूपमा सञ्चालन हुन सक्छ।

चीनले यी गतिविधिलाई भूक्षेत्रीय सार्वभौमिकता, समुन्द्री अधिकार तथा क्षेत्रीय शान्ति र स्थिरताको संरक्षणका लागि आवश्यक प्रतिरक्षात्मक उपायका रूपमा प्रस्तुत गरेको छ।

चिनियाँ पक्षका अनुसार सार्वभौमिकता अतिक्रमण गर्ने गतिविधिबाट उत्पन्न हुने परिणामको जिम्मेवारी अन्ततः त्यस्ता गतिविधि सञ्चालन गर्ने पक्षले नै वहन गर्नुपर्नेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button