१७ भाद्र २०८३, बुधबार

आर्थिक सुशासन र लगानीमैत्री वातावरण निर्माणमा अडिट पेशाको भूमिका महत्वपूर्ण

ड्रागन मिडिया सम्वाददाता

अडिट व्यवसायलाई केवल हिसाब–किताब परीक्षण गर्ने सीमित कार्यका रूपमा नभई मुलुकमा आर्थिक सुशासन, पारदर्शिता र लगानीमैत्री वातावरण निर्माण गर्ने आधारभूत पेशाका रूपमा विकास गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

नेपाल अडिटर्स एसोसिएसन झापा (अडान) को २१औँ स्थापना दिवसका अवसरमा शनिबार आयोजित अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा सहभागी वक्ताहरूले अडिट पेशाको बदलिँदो भूमिका, व्यावसायिक नैतिकता, विश्वसनीयता र गुणस्तरीय सेवाको आवश्यकतामाथि विशेष जोड दिएका हुन्।

कार्यक्रमका प्रमुख अतिथि नेपाल अडिटर्स एसोसिएसन अफ नेपालका केन्द्रीय उपाध्यक्ष बलराम चौधरीले अडिट व्यवसाय परम्परागत दायराभन्दा धेरै अघि बढिसकेको बताउनुभयो। उहाँले स्थापना दिवसलाई केवल औपचारिक उत्सवका रूपमा नभई पेशाको वर्तमान अवस्था मूल्याङ्कन गर्दै भविष्यको दिशा तय गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राख्नुभयो।

उहाँले दर्तावाला लेखापरीक्षकको जिम्मेवारी वित्तीय विवरण परीक्षण गरी प्रतिवेदन तयार गर्ने कार्यमा मात्र सीमित नरहेको उल्लेख गर्नुभयो। लेखापरीक्षण प्रतिवेदनका आधारमा व्यवसायी, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, सरकार र आमसमाजले महत्वपूर्ण आर्थिक निर्णय लिने भएकाले लेखापरीक्षकको भूमिका थप संवेदनशील र उत्तरदायी बनेको उहाँको भनाइ थियो।

“हाम्रो प्रतिवेदनप्रति धेरै पक्षको विश्वास जोडिएको हुन्छ,” उहाँले भन्नुभयो, “त्यसैले इमानदारी, स्वतन्त्रता, निष्पक्षता र गुणस्तरलाई पेशाको मूल आधार बनाउन आवश्यक छ।”

कोशी प्रदेश अध्यक्ष फणिन्द्र पराजुलीले अडिट पेशाको सबैभन्दा ठूलो सम्पत्ति कार्यालय वा भौतिक पूर्वाधार नभई विश्वसनीयता भएको बताउनुभयो। उहाँले पेशागत दक्षता अभिवृद्धिसँगै व्यावसायिक आचरण सुदृढ बनाउन निरन्तर तालिम, अध्ययन र अभिमुखीकरण आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

प्रदेश समितिले सञ्चालन गरिरहेका गतिविधिबारे जानकारी दिँदै उहाँले बदलिँदो कानुनी, प्राविधिक र व्यावसायिक वातावरणसँग लेखापरीक्षकहरू निरन्तर अद्यावधिक हुनुपर्ने बताउनुभयो।

“हाम्रो सबैभन्दा ठूलो सम्पत्ति ग्राहक मात्र होइनन्, उनीहरूले हामीमाथि गरेको विश्वास हो,” उहाँले भन्नुभयो, “त्यही विश्वास कायम राख्न गुणस्तरीय सेवा र नैतिक आचरण अपरिहार्य हुन्छ।”

अडान झापाका अध्यक्ष पर्शुराम बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका दर्तावाला लेखापरीक्षकहरूको उल्लेख्य सहभागिता थियो।

कार्यक्रममा केन्द्रीय सचिव जयधर्म पोखरेल, केन्द्रीय सदस्य होमनाथ उप्रेती, माधव घिमिरे, केन्द्रीय सदस्य खडानन्द गुरागाईं, कोशी प्रदेशका दिलबहादुर पौडेल, भलाकाजी कठेत तथा पूर्वजिल्ला अध्यक्ष चूडामणि चिमरियालगायतले अडिट व्यवसायमा देखिएका चुनौती, अवसर र क्षमता अभिवृद्धिका विषयमा धारणा राख्नुभएको थियो।

वक्ताहरूले लेखापरीक्षणलाई वित्तीय त्रुटि पहिचान गर्ने प्रक्रियामा मात्र सीमित नराखी संस्थागत अनुशासन, जोखिम व्यवस्थापन, कर अनुपालन, पारदर्शिता र उत्तरदायित्व सुदृढ गर्ने माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए।

सहभागीहरूले नियामकीय व्यवस्थामा भइरहेको परिवर्तन, डिजिटल वित्तीय प्रणालीको विस्तार, प्रविधिको बढ्दो प्रयोग र व्यावसायिक उत्तरदायित्वका कारण अडिट पेशामा निरन्तर अध्ययन, अद्यावधिक ज्ञान र व्यावसायिक शीप विकास अपरिहार्य बनेको निष्कर्ष निकाले।

डिजिटल कारोबार, विद्युतीय अभिलेख, स्वचालित लेखा प्रणाली र नयाँ वित्तीय उपकरणको प्रयोग बढ्दै जाँदा लेखापरीक्षकहरूले परम्परागत ज्ञानसँगै प्रविधिमा आधारित परीक्षण क्षमता पनि विकास गर्नुपर्ने कार्यक्रममा औँल्याइएको थियो।

कार्यक्रमको सञ्चालन अडान झापाका सचिव खिवलाल अधिकारीले गर्नुभएको थियो।

स्थापना दिवसका अवसरमा आयोजित अन्तरक्रिया तथा प्रशिक्षणले अडिट व्यवसायलाई थप उत्तरदायी, विश्वसनीय, नैतिक र गुणस्तरीय बनाउने प्रतिबद्धता पुनः सुदृढ गरेको आयोजकले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button