१७ भाद्र २०८३, बुधबार

आज पाँच प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना, राति केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने

ड्रागन मिडिया समाचार कक्ष

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ।

महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहेको छ भने देशका बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका धेरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ। सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभाग, मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराईका केही स्थानमा भारी वर्षा हुन सक्नेछ। ती क्षेत्रका एकदुई स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागले जारी गर्ने पछिल्ला मौसमसम्बन्धी सूचनाबारे नियमित रूपमा अद्यावधिक रहन पनि अनुरोध गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button