१७ भाद्र २०८३, बुधबार

वर्षा, पहिरो र बाढीले विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा रातिको आवागमन निषेध

ड्रागन मिडिया समाचार कक्ष

अविरल वर्षा, पहिरो, बाढी तथा नदी कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग र सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ।

नेपाल प्रहरीले आइतबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएको र सम्भावित जोखिमलाई ध्यानमा राखी केही सडकमा रातिको समयमा सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको जनाएको छ।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

कान्तिलोकपथमा पनि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न निषेध गरिएको प्रहरीले जनाएको छ।

इलाम नगरपालिका–९ अन्तर्गतको मेची राजमार्ग वर्षाका कारण हिलाम्मे भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामोसाँघु–रामेछाप सडकखण्डमा खोलाको बहावले सडक कटान गरेपछि सवारी आवागमन बन्द भएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित पासाङ ल्हामु सडकखण्डमा त्रिशूली नदीले कटान गरेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

गोरखाको धार्चे गाउँपालिका–३ अन्डरडाँडामा पहिरो खस्दा लार्के–बेनीघाट कच्ची सडक पनि पूर्ण रूपमा बन्द भएको छ।

प्रहरीले वर्षायाममा पहिरो, बाढी, गेग्रान बहाव तथा सडक कटानको जोखिम उच्च रहने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ।

जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न, रातिको समयमा लगाइएको प्रतिबन्ध पालना गर्न तथा सम्भावित विपदबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि प्रहरीले अनुरोध गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button