१७ भाद्र २०८३, बुधबार

रुकुम पूर्व अस्पतालमा स्तनपान कक्ष उद्घाटन

ड्रागन मिडिया समाचार कक्ष

विश्व स्तनपान सप्ताह २०८३ का अवसरमा रुकुम पूर्व अस्पतालमा स्तनपान कक्ष उद्घाटन गरिएको छ।

“दिगो जीवनको स्वस्थ सुरुवात, प्रभावकारी स्तनपानका लागि सबैको साथ” भन्ने नारासहित सप्ताहको औपचारिक शुभारम्भ गरिएको अस्पतालले जनाएको छ।

दुर्गम हिमाली जिल्ला रुकुम पूर्वमा स्तनपान गराइरहेकी एक आमाले स्तनपान कक्ष उद्घाटन गर्नुभएको हो। कार्यक्रममा अस्पतालबाट गर्भजाँच सेवा लिई सोही अस्पतालमा सुरक्षित प्रसूति गराएका आमा र नवजात शिशुलाई सहभागी गराइएको थियो।

स्वास्थ्यकर्मी तथा सरोकारवालाको उपस्थितिमा आयोजित कार्यक्रममा स्तनपानको महत्व, शिशुको स्वास्थ्यमा यसको भूमिका र आमालाई आवश्यक सहयोगबारे जानकारीसमेत दिइएको थियो।

अस्पतालका अनुसार स्तनपान कक्ष स्थापनापछि स्तनपान गराइरहेका आमाले सहज, सुरक्षित र सम्मानजनक वातावरण प्राप्त गर्नेछन्। यसबाट नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन तथा प्रभावकारी स्तनपान अभ्यासलाई थप प्रोत्साहन पुग्ने अपेक्षा गरिएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खरेलले स्तनपान शिशुको स्वास्थ्य, पोषण र समग्र विकासका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो।

उहाँले स्तनपान प्रवर्द्धनका लागि परिवार, समुदाय, स्वास्थ्य संस्था र सरोकारवाला सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।

अस्पतालले स्तनपान सप्ताहका अवसरमा आमा तथा परिवारलाई स्तनपानसम्बन्धी सही जानकारी उपलब्ध गराउने र नवजात शिशुको स्वास्थ्य संरक्षणबारे जनचेतना विस्तार गर्ने जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button