खजुरामा योग भवन उद्घाटन, रक्तदान तथा स्वास्थ्य परीक्षणमा मन्त्री खत्रीको सहभागिता

ड्रागन मिडिया समाचार कक्ष
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्रीले बाँकेको खजुरा गाउँपालिका–५ मा नवनिर्मित योग भवन उद्घाटन गर्नुभएको छ।

पत्रकार गोविन्द आचार्यका अनुसार मन्त्री खत्रीले आइतबार आयोजित कार्यक्रममा भवन उद्घाटन गर्दै योग तथा शारीरिक अभ्यासले स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याउने बताउनुभएको थियो।
यसैगरी, उहाँ खजुरा गाउँपालिका–४ स्थित अरुणोदय स्कुलले आयोजना गरेको रक्तदान तथा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा सहभागी हुनुभएको छ।

मन्त्री खत्रीले कार्यक्रममा रक्तदानसमेत गर्दै नागरिकको स्वास्थ्य संरक्षण र आवश्यकतामा परेका बिरामीलाई सहयोग पुर्याउन स्वैच्छिक रक्तदानको विशेष महत्व रहेको सन्देश दिनुभएको थियो।
कार्यक्रममा स्थानीय बासिन्दा, विद्यालयका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता रहेको थियो।

मन्त्री खत्रीले योग भवन र विद्यालय परिसरमा स्थानीय बासिन्दासँग विकास निर्माण, स्वास्थ्य, शिक्षा तथा समुदायका अन्य सरोकारका विषयमा छलफल समेत गर्नुभएको पत्रकार आचार्यले जानकारी दिनुभएको छ।





