१७ भाद्र २०८३, बुधबार

आक्रमण रोक्न आग्रह गरेको ट्रम्पको दाबी इरानी सैन्य श्रोतद्वारा अस्वीकार

ड्रागन मिडिया समाचार कक्ष

इरानी सैन्य श्रोतले तेहरानले अमेरिकी आक्रमण रोक्न वासिङ्टनसँग आग्रह गरेको भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी अस्वीकार गरेका छन्।

इरानको मेहर समाचार संस्थाका अनुसार सैन्य श्रोतले ट्रम्पको अभिव्यक्तिलाई “नयाँ झुट” को संज्ञा दिँदै इरानले अमेरिकासँग त्यस्तो कुनै आग्रह नगरेको बताएका हुन्।

ती श्रोतले ट्रम्पको ट्रुथ सोसल पोस्टलाई खाडी क्षेत्रका देशमाथि दबाब सिर्जना गर्ने निराशाजनक प्रयासका रूपमा व्याख्या गरेका छन्।

इरानी सशस्त्र बल उच्चतम सतर्कतामा रहेको र कुनै पनि सम्भावित परिस्थितिको सामना गर्न पूर्ण रूपमा तयार रहेको सैन्य श्रोतको भनाइ छ।

यसअघि ट्रम्पले इरानविरुद्ध थप आक्रमण तत्काल नगर्ने निर्णय गरेको बताएका थिए।

उनले ट्रुथ सोसलमा इरान र मध्यपूर्वका अन्य देशबाट आक्रमण रोक्न आग्रह आएको तथा सम्भावित सम्झौताको प्रारम्भिक रूपरेखामा सहमति बनेको दाबी गरेका थिए।

ट्रम्पले भने आफ्नो निर्णय छिटो सम्झौता गर्न सकिने अवस्थासँग सम्बन्धित रहेको उल्लेख गर्दै सहमति नबने आक्रमणसम्बन्धी निर्णय परिवर्तन हुन सक्ने चेतावनी पनि दिएका छन्।

ट्रम्पको दाबी र त्यसलाई अस्वीकार गर्ने इरानी सैन्य श्रोतको भनाइबीच स्पष्ट विरोधाभाष देखिएको छ। सम्भावित सम्झौताको विषयमा इरान सरकारबाट छुट्टै औपचारिक विवरण सार्वजनिक भएको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button