खजुरामा १६ कोठे विद्यालय भवनको शिलान्यास

ड्रागन मिडिया समाचार कक्ष
खजुरा गाउँपालिका र भारत सरकारको साझेदारीमा निर्माण हुन लागेको श्री जनकल्याण माध्यमिक विद्यालय, बद्रीपुरको १६ कोठे भवनको शिलान्यास गरिएको छ।
खजुरा गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक र नेपालस्थित भारतीय राजदूतावासकी काउन्सलर गीताञ्जली ब्रेन्डनले संयुक्त रूपमा भवनको शिलान्यास गर्नुभएको हो।

गाउँपालिकाका अनुसार नयाँ भवन निर्माणपछि विद्यालयको भौतिक पूर्वाधार सुदृढ हुनुका साथै विद्यार्थीलाई थप व्यवस्थित र सुरक्षित वातावरणमा अध्ययन गर्ने सुविधा प्राप्त हुनेछ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावक, सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो।
भवन निर्माणले बद्रीपुर क्षेत्रको शैक्षिक विकासमा योगदान पुर्याउनुका साथै विद्यालयमा बढ्दो विद्यार्थी सङ्ख्याअनुसार आवश्यक कक्षाकोठाको अभाव समाधान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
खजुरा गाउँपालिकाले शिक्षा क्षेत्रको पूर्वाधार विकासलाई प्राथमिकता दिँदै विद्यालय भवन, कक्षाकोठा तथा अन्य आवश्यक संरचना विस्तारका लागि साझेदारीमा काम गर्दै आएको जनाएको छ।





