सरकारी अनुदान र गर्मीले चीनमा ऊर्जा–दक्ष स्मार्ट उपकरणको माग बढायो

ड्रागन मिडिया समाचार कक्ष
चीनमा पुराना घरायसी उपकरण साटेर नयाँ खरिद गर्दा उपलब्ध गराइने सरकारी अनुदान र यस वर्ष समयअगावै बढेको गर्मीका कारण ऊर्जा–दक्ष तथा स्मार्ट उपकरणको माग तीव्र रूपमा बढेको छ।
दक्षिण चीनको क्वाङ्सी च्वाङ स्वशासित क्षेत्रस्थित नाननिङका ७२ वर्षीय चु छङयी र उहाँकी ७१ वर्षीया पत्नी ली लानले छोरीको आग्रहमा एक दशक पुरानो एयर कन्डिसनर परिवर्तन गर्नुभएको छ।
सरकारी अनुदान प्रयोग गरेर खरिद गरिएको नयाँ इनभर्टरयुक्त एयर कन्डिसनर आवाजबाट नियन्त्रण गर्न तथा स्मार्टफोनमार्फत सञ्चालन गर्न सकिन्छ। छिमेकी क्वाङतुङ प्रान्तको सनचनमा बस्ने उहाँहरूकी छोरीले मोबाइल एपबाट उपकरणको अवस्था टाढैबाट निगरानी गर्न सक्नुहुन्छ।
यो अनुभवले चीनमा उपभोगको परिमाण मात्र नभई गुणस्तरसमेत स्तरोन्नति भइरहेको व्यापक परिवर्तनलाई प्रतिबिम्बित गर्छ। लक्षित सरकारी कार्यक्रमले उपभोक्तालाई पुराना उपकरणको सट्टा कम ऊर्जा खपत गर्ने आधुनिक प्रविधिका सामग्री खरिद गर्न प्रोत्साहित गरेको छ।
चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोका अनुसार सन् २०२६ को पहिलो छ महिनामा अनलाइन र भौतिक पसलबाट भएको उपभोग्य वस्तुको कुल खुद्रा बिक्री २४.८७ ट्रिलियन युआन पुगेको छ। यो अघिल्लो वर्षको समान अवधिको तुलनामा १.३ प्रतिशत बढी हो।
अति दीर्घकालीन विशेष सरकारी ऋणपत्रबाट तीन चरणमा उपलब्ध गराइएको बजेटमा सञ्चालित राष्ट्रिय ट्रेड–इन कार्यक्रमले पहिलो छ महिनामै १.१ ट्रिलियन युआनको बिक्री सिर्जना गरेको छ। कार्यक्रमबाट १५ करोड उपभोक्ता लाभान्वित भएको ब्युरोले जनाएको छ।
सरकारले अनुदान धेरै क्षेत्रमा छरिन नदिन कार्यक्रमलाई निश्चित उपकरण र उच्च ऊर्जा–दक्ष उत्पादनमा केन्द्रित गरेको छ। सन् २०२६ को व्यवस्थाअनुसार एयर कन्डिसनरसहित छवटा प्रमुख घरायसी उपकरणमा अनुदान उपलब्ध हुन्छ।
अनुदान पाउन उपकरणले उच्चतम ग्रेड–१ ऊर्जा–दक्षता मापदण्ड पूरा गर्नुपर्छ। उपभोक्ताले छुटपछि कायम हुने मूल्यको १५ प्रतिशतसम्म अनुदान पाउँछन्। यो सुविधा प्रतिउपकरण अधिकतम एक हजार ५०० युआन र प्रतिव्यक्ति प्रत्येक श्रेणीमा एउटा उपकरणसम्म सीमित छ।
नाननिङस्थित सुनिङको प्रमुख बिक्री केन्द्रका व्यवस्थापक ह्वाङ वनथाओका अनुसार गत वर्षको तुलनामा यस वर्ष ग्राहकको आवागमन बढेको छ। आवाजबाट नियन्त्रण, नरम हावाको प्रवाह र टाढाबाट निगरानी गर्न सकिने सुविधायुक्त उपकरणप्रति विशेष आकर्षण देखिएको छ।
वृद्ध उपभोक्ताले समेत स्मार्ट सुविधा र ऊर्जा बचतबारे धेरै चासो राख्न थालेको उहाँले बताउनुभयो। सरकारी अनुदानले राम्रो गुणस्तरका उपकरण खरिद गर्न सहज बनाउनुका साथै दैनिक विद्युत खर्चमा देखिने अन्तरले उपभोक्तालाई आकर्षित गरेको छ।
सुनिङको क्वाङ्सी शाखाका बजार प्रमुख वन छ्याङका अनुसार ग्रेड–१ एयर कन्डिसनर बजारको सामान्य रोजाइ बन्न थालेका छन्। स्मार्ट भान्सा उपकरण र ऊर्जा–दक्ष फ्रिजको माग पनि तीव्र रूपमा बढिरहेको छ।
पुरानो एयर कन्डिसनर सञ्चालनमा रहे पनि विद्युत खर्च बढ्न थालेपछि उपभोक्ताले नयाँ उपकरण रोज्ने गरेको उहाँको भनाइ छ।
साना खुद्रा व्यवसायीले पनि यही प्रवृत्ति देखिएको बताएका छन्। क्वाङ्सी क्षेत्रमा मिडियाका प्रतिनिधि तौ चिहोङका अनुसार ग्राहकले अहिले ग्रेड–१ मापदण्ड, आवाज कम हुने सुविधा, समान रूपमा चिसो वितरण र स्मार्ट नियन्त्रणलाई प्राथमिकता दिन थालेका छन्।
सरकारी अनुदानसँगै विक्रेताले पनि आफ्नै छुट तथा सुविधा थपेका छन्। सुनिङले पुरानो एयर कन्डिसनरको अवस्थाअनुसार एक हजार युआनसम्म थप मूल्य उपलब्ध गराउनुका साथै निःशुल्क सङ्कलन तथा पुनःप्रयोग सेवा सञ्चालन गरेको छ।
उद्योगसम्बन्धी तथ्याङ्कअनुसार सरकारी कार्यक्रममा समेटिएका उपकरणको बिक्रीमध्ये उच्च ऊर्जा तथा पानी दक्षता भएका उत्पादनको हिस्सा ९२ प्रतिशतभन्दा बढी पुगेको छ। देशव्यापी रूपमा प्रतिस्थापन गरिएका उपकरणमध्ये ग्रेड–१ उत्पादनको हिस्सा निरन्तर ९० प्रतिशतभन्दा माथि रहेको छ।
यो प्रवृत्ति पहिले एयर कन्डिसनरको प्रयोग न्यून रहेका चीनका उत्तरपूर्वी क्षेत्रमा पनि विस्तार भएको छ। यस वर्षको असामान्य गर्मीपछि कतिपय शहरमा एयर कन्डिसनर बिक्री केही समयका लागि तीन गुणासम्म बढेको उद्योगको तथ्याङ्कले देखाएको छ।
चीनको ऊर्जा–दक्ष उपकरणको माग अन्तर्राष्ट्रिय बजारमा पनि बढेको छ। भन्सार तथ्याङ्कअनुसार सन् २०२६ को पहिलो छ महिनामा युरोपेली सङ्घतर्फ चीनको एयर कन्डिसनर निर्यात ३.७६ अर्ब अमेरिकी डलरको कीर्तिमानी स्तरमा पुगेको छ। यो अघिल्लो वर्षको समान अवधिभन्दा ४३.२ प्रतिशत बढी हो।
भाडाका घर र पुराना भवनमा सहज रूपमा प्रयोग गर्न सकिने जडान आवश्यक नपर्ने पोर्टेबल एयर कन्डिसनरको निर्यात ७० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। युरोपेली बजारमा चिनियाँ ब्रान्डको हिस्सा सन् २०२३ को २७ प्रतिशतबाट बढेर यस वर्ष ४१ प्रतिशत पुगेको छ।
चु र लीका लागि भने प्रविधिको प्रभाव दैनिक सहजतामा देखिएको छ। नयाँ उपकरणको प्रत्यक्ष हावा नफ्याँक्ने सुविधाले कोठाभरि नरम रूपमा चिसोपन फैलाउँछ र पहिले अनुभव हुने जोर्नीको असहजता घटाएको छ।
“अब यो केवल एउटा उपकरणजस्तो लाग्दैन,” चुले भन्नुभयो, “यसले हाम्रो हेरचाह गरिरहेको जस्तो लाग्छ।”





