१९ भाद्र २०८३, शुक्रबार

सुस्तामा एसएसबीले अस्थायी बाँध भत्काएको स्थानीयको आरोप, सीमा क्षेत्रमा तनाव

ड्रागन मिडिया समाचार कक्ष

पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको स्थानीय बासिन्दाले आरोप लगाएका छन्।

घटनापछि स्थानीय बासिन्दा र भारतीय सुरक्षाकर्मीबीच विवाद भएको छ भने सम्भावित अप्रिय अवस्था नियन्त्रण गर्न नेपालको सशस्त्र प्रहरी बललाई घटनास्थलमा परिचालन गरिएको छ।

स्थानीयका अनुसार आइतबार दिउँसो करिब साढे ३ बजे सादा पोसाकका व्यक्तिसहित हतियार बोकेका करिब ६० जना एसएसबी सुरक्षाकर्मी सुस्ता गाउँपालिका–५ स्थित थारु टोल क्षेत्रमा प्रवेश गरेका थिए।

उनीहरूले नारायणी नदीको कटान र बाढीबाट बस्ती जोगाउने उद्देश्यले निर्माण भइरहेको १३२ मिटर लामो माटोको अस्थायी बाँध भत्काइदिएको स्थानीयको भनाइ छ।

सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमले भारतीय सुरक्षाकर्मी दुई देशको सीमा मानिएको सिमलको रुखबाट करिब ३०० मिटर नेपालतर्फ प्रवेश गरी बाँध भत्काएको दाबी गर्नुभएको छ।

स्थानीय बासिन्दाले बाँध भत्काउन रोक्ने प्रयास गरे पनि एसएसबीको टोली ठूलो सङ्ख्यामा हतियारसहित आएकाले रोक्न नसकिएको उहाँले बताउनुभयो। त्यसक्रममा स्थानीय र भारतीय सुरक्षाकर्मीबीच विवाद भएको थियो।

यसअघि गत असारमा पनि भारतीय सुरक्षाकर्मी सुस्ता क्षेत्रमा प्रवेश गरी बाँध निर्माण रोक्न दबाब दिएको स्थानीयले बताएका छन्। त्यसपछि निर्माण कार्य केही समयका लागि रोकिएको थियो।

स्थानीय मुन्ना खाँका अनुसार सुस्ता क्षेत्रमा पर्याप्त सीमा स्तम्भ नहुनु, नारायणी नदीले समय–समयमा धार परिवर्तन गर्नु र भारतीय पक्षबाट पटक–पटक हुने हस्तक्षेपका कारण विवाद दोहोरिँदै आएको छ।

अस्थायी बाँध स्थानीय बस्ती र खेतीयोग्य भूमि नारायणी नदीको कटान तथा बाढीबाट जोगाउने उद्देश्यले निर्माण भइरहेको स्थानीयको भनाइ छ। बाँध भत्काइएपछि वर्षायाममा थारु टोलसहित आसपासका बस्तीमा नदी पस्ने जोखिम बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

घटनापछि नेपालको सशस्त्र प्रहरी बलको टोली सीमा क्षेत्रमा परिचालन गरिएको छ। स्थानीय प्रशासन र सुरक्षा निकायले परिस्थितिलाई थप तनावपूर्ण बन्न नदिन निगरानी बढाएका छन्।

स्थानीय बासिन्दाले नेपाली भूमिमा भएको भनिएको प्रवेश र बाँध भत्काइएको घटनाको औपचारिक छानबिन गरी कूटनीतिक माध्यमबाट समाधान खोज्न सरकारसँग माग गरेका छन्।

घटनाबारे भारतीय एसएसबी वा भारतीय कूटनीतिक पक्षको औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। बाँध रहेको स्थानको सीमासम्बन्धी अवस्थाबारे नेपाल सरकारबाट पनि विस्तृत आधिकारिक विवरण आउन बाँकी छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button