१९ भाद्र २०८३, शुक्रबार

श्रृंखलाबद्ध सुन लुटपाटमा ‘कर्मा समूह’ सक्रिय, पाँच जना पक्राउ

ड्रागन मिडिया समाचार कक्ष

काठमाडौँ उपत्यकामा श्रृंखलाबद्ध रूपमा सुनका गरगहना लुटपाट गर्दै आएको आरोपमा ‘कर्मा समूह’का नामले परिचित गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले लुटपाटमा संलग्न रहेको आरोपमा समूहका नाइके भनिएका ३४ वर्षीय कर्मा तामाङसहित पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भएका तामाङ २०७९ सालदेखि काठमाडौँका विभिन्न क्षेत्रमा चोरी तथा लुटपाटमा संलग्न रहेको प्रहरीको दाबी छ।

प्रहरीले उनलाई बूढानीलकण्ठ नगरपालिका–१३ स्थित चुनिखेलबाट नियन्त्रणमा लिएको थियो। पक्राउ गर्ने क्रममा प्रहरीले चलाएको गोली तामाङको घुँडामुनिको भागमा लागेको छ। उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार तामाङ यसअघि पनि पटक–पटक चोरीसम्बन्धी मुद्दामा पक्राउ परेका थिए। उनीविरुद्ध २०७९ सालयता नौवटा मुद्दा दर्ता भएको प्रहरीको विवरण छ।

यसैगरी पक्राउ पर्ने अन्यमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० का ३० वर्षीय प्रतिमान गोले, पनौती नगरपालिका–९ का ३० वर्षीय पासाङ घिसिङ, कास्कीको राङकोटका २९ वर्षीय आले गुरुङ र काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–९ का ३६ वर्षीय मनोज तामाङ रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार प्रतिमान र पासाङ यसअघि पनि चोरीसम्बन्धी मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन्।

मनोज सुन व्यवसायी रहेको र उनले समूहले लुटपाट गरी ल्याएका सुनका गरगहना गलाउने तथा बिक्री वितरणमा सहयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार समूहका सदस्यले एक्लै हिँडिरहेका महिला तथा ज्येष्ठ नागरिकलाई मुख्य रूपमा निशाना बनाउने गरेका थिए। उनीहरूले बाटो सोध्ने वा अन्य बहाना बनाएर नजिक पुग्ने र घाँटीमा लगाएको सुनको सिक्री लुटेर भाग्ने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

लुटपाटपछि समूहका सदस्य केही समय काठमाडौँबाहिर लुक्ने र अवस्था सामान्य भएपछि पुनः उपत्यकामा फर्किएर अपराध गर्ने गरेको प्रहरीको भनाइ छ।

पक्राउ परेका पाँचै जनामाथि चोरी तथा लुटपाटसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button