१९ भाद्र २०८३, शुक्रबार

हरेक शत्रु धम्कीलाई वास्तविक मानेर तयारी बढाइरहेका छौँ : इरानी कार्यवाहक रक्षामन्त्री

ड्रागन मिडिया समाचार कक्ष

इरानका कार्यवाहक रक्षामन्त्री सैयद माजिद एब्न अल–रेजाले तेहरानले शत्रु पक्षबाट आउने हरेक धम्कीलाई वास्तविक र गम्भीर रूपमा लिने बताउँदै त्यसलाई केवल मनोवैज्ञानिक युद्धका रूपमा बेवास्ता नगर्ने स्पष्ट गर्नुभएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि नयाँ आक्रमण तत्कालका लागि स्थगित गरेको बताएपछि सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै अल–रेजाले इरान कुनै पनि घटनाबाट आश्चर्यचकित नहुने र निष्क्रियसमेत नबस्ने बताउनुभएको हो।

“हामी न आश्चर्यचकित हुनेछौँ, न निष्क्रिय रहनेछौँ,” उहाँले लेख्नुभएको छ, “हामी धम्कीलाई आफ्नो तयारी बढाउने, प्रतिरोध क्षमता सुदृढ गर्ने र शक्ति विकास गर्ने आधारका रूपमा प्रयोग गर्छौँ।”

ट्रम्पले यसअघि ट्रुथ सोसलमा अमेरिका इरानविरुद्ध ठूलो सैन्य शक्ति प्रयोग गर्न पूर्ण तयारीमा रहेको दाबी गर्नुभएको थियो। तर इरान र पश्चिम एसियाका अन्य देशले आक्रमण स्थगित गर्न आग्रह गरेको तथा सम्भावित सम्झौता नजिकिएको भन्दै तत्काल कारवाही अघि नबढाएको उहाँको भनाइ थियो।

ट्रम्पका अनुसार सम्भावित सम्झौतामा होर्मुज जलडमरू पूर्ण रूपमा तत्काल खोल्ने र इरानबाट उत्पन्न हुने भनिएको आणविक खतरा अन्त्य गर्ने विषय समावेश हुनेछ। इरानी पक्षले भने आक्रमण रोक्न अमेरिकासँग आग्रह गरेको भन्ने ट्रम्पको यसअघिको दाबी अस्वीकार गरिसकेको छ।

होर्मुजसम्बन्धी सम्झौताको दाबी अस्वीकार

इजरायलको च्यानल १२ ले आइतबार इरानी विदेशमन्त्री सैयद अब्बास अराघची कतार र अमेरिकाको मध्यस्थतामा प्रस्ताव गरिएको सम्झौतामा सहमत भएको दाबी गरेको थियो।

उक्त विवरणअनुसार जहाजलाई इरानको नियन्त्रणमा रहेको मार्गबाट फारस खाडी प्रवेश गर्न र ओमानतर्फको जलक्षेत्र हुँदै बाहिरिन अनुमति दिने प्रस्ताव अघि सारिएको थियो।

तर इरानको अर्धसरकारी फार्स समाचार संस्थाले वार्ता टोलीनिकट एक श्रोतलाई उद्धृत गर्दै उक्त दाबी तत्काल अस्वीकार गरेको छ।

फार्सका अनुसार अमेरिकी पक्षका “शत्रुतापूर्ण र दुर्भावनापूर्ण गतिविधि” जारी रहेसम्म होर्मुज जलडमरू बन्द रहनेछ। जहाजलाई इरानले निर्धारण गरेको मार्गमा मात्र इस्लामिक रिभोलुसन गार्ड कोरको नौसेनासँग समन्वय र अनुमति लिएर आवतजावत गर्न दिइने सैन्य श्रोतले जनाएको छ।

इरानी सैन्य श्रोतले अन्य मार्ग सुरक्षित नरहेको चेतावनी दिँदै सामरिक महत्वको उक्त जलमार्गसम्बन्धी तेहरानको नीतिमा कुनै परिवर्तन नभएको स्पष्ट गरेको छ।

तनावबीच सैन्य कारवाही र प्रतिकार

इरानले फेब्रुअरी २८ मा आफ्नो भूमिमाथि अमेरिका र इजरायलले संयुक्त आक्रमण गरेपछि होर्मुज जलडमरूमाथिको नियन्त्रण कडा बनाएको थियो।

त्यसपछि इजरायल वा अमेरिकासँग सम्बन्धित तथा तिनको स्वामित्वमा रहेका जहाजलाई सुरक्षित आवागमन नदिने नीति लागू गरिएको इरानी पक्षको भनाइ छ।

पछिल्ला दिनमा अमेरिकी सेनाले इरानी लक्ष्यविरुद्ध विभिन्न चरणमा आक्रमण गरेको छ। अमेरिकाले होर्मुज क्षेत्रमा जहाजमाथि भएका इरानी आक्रमणको प्रतिकार तथा व्यावसायिक जलयातायातलाई जोखिममा पार्ने इरानको क्षमता कमजोर बनाउने उद्देश्यले कारवाही गरिएको दाबी गरेको छ।

इरानले त्यसको जवाफमा पश्चिम एसियामा रहेका अमेरिकी सैन्य आधार तथा अन्य सुविधालाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको जनाएको छ।

अमेरिकी सञ्चारमाध्यमहरूले यसअघि अमेरिका र इजरायलले इरानको ऊर्जा पूर्वाधारमाथि थप आक्रमण गर्ने तयारी गरेको विवरण सार्वजनिक गरेका थिए।

यसैबीच ट्रम्पले तत्काल नयाँ आक्रमण स्थगित गरेको बताए पनि इरानी कार्यवाहक रक्षामन्त्री अल–रेजाले तेहरानले सम्भावित सैन्य खतरा टरेको निष्कर्ष ननिकालेको स्पष्ट गर्नुभएको छ।

इरानी नेतृत्वको पछिल्लो प्रतिक्रियाले सम्भावित सम्झौताबारे सार्वजनिक भएका दाबीका बाबजुद तेहरानले आफ्नो सैन्य तयारी, प्रतिरोध क्षमता र होर्मुज जलडमरूमा लागू नीति यथावत् राखेको देखाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button