युट्युबमार्फत भ्रामक सामग्री फैलाएको आरोपमा जनक भुसाल पक्राउ

ड्रागन मिडिया समाचार कक्ष
युट्युब च्यानलमार्फत भ्रामक सूचना र अफवाह फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बस्दै आएका ३९ वर्षीय जनक भुसाल रहेका छन्। उनलाई शनिबार पक्राउ गरिएको ब्युरोले जनाएको छ।
साइबर ब्युरोका अनुसार भुसालले सञ्चालन गर्दै आएको ‘नेपाली खबर टिभी’ नामक युट्युब च्यानलबाट सत्यतथ्य पुष्टि नभएका तथा हुँदै नभएका घटनालाई वास्तविकजस्तो प्रस्तुत गरी भिडियो सामग्री प्रसारण गर्ने गरेका थिए।
उक्त च्यानलमा गृहमन्त्रीमाथि आक्रमण भएको र टाउको फुटेको जस्ता भ्रामक शीर्षक तथा विवरणसहितका सामग्री राखिएको अनुसन्धानका क्रममा भेटिएको प्रहरीले जनाएको छ।
“भ्रामक सूचना प्रवाह गर्ने भिडियो सामग्री तयार पारी अफवाह फैलाउने तथा जातीय र धार्मिक हिंसात्मक एवं ध्वंसात्मक गतिविधिमा संलग्न व्यक्ति तथा समूहलाई थप उत्तेजित बनाउने कार्यमा संलग्न रहेको खुलेको छ,” ब्युरोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रहरीले यस्ता सामग्रीले सामाजिक सद्भाव, सार्वजनिक शान्ति र सुरक्षा व्यवस्थामा नकारात्मक प्रभाव पार्न सक्ने जनाएको छ।
पक्राउ परेका भुसालमाथि विद्युतीय कारोबारसम्बन्धी प्रचलित कानुनअनुसार अनुसन्धान तथा आवश्यक कानुनी कारवाही अघि बढाइएको साइबर ब्युरोले जनाएको छ।





