युट्युबमार्फत भ्रामक सूचना फैलाएको आरोपमा जनक भुसाल पक्राउ, सात दिन हिरासतमा राख्न अनुमति

ड्रागन मिडिया समाचार कक्ष
सामाजिक सञ्जालमा दर्शक र फलोअर्स बढाएर आर्थिक लाभ लिने उद्देश्यले भ्रामक तथा उत्तेजक सामग्री प्रसारण गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ स्थायी घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बस्दै आएका ३९ वर्षीय जनक भुसाल रहेका छन्।
साइबर ब्युरोले आइतबार जारी गरेको विज्ञप्तिअनुसार भुसाललाई जिल्ला प्रहरी कार्यालय बुटवलको सहयोगमा शनिबार बुटवलबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार भुसालले ‘नेपाली खबर टिभी’ नामक युट्युब च्यानल सञ्चालन गर्दै आएका थिए। उक्त च्यानलमार्फत राज्यको विद्यमान परिस्थितिमा प्रत्यक्ष असर पार्न सक्ने भ्रामक सूचना र भिडियो सामग्री तयार गरी प्रसारण गरेको ब्युरोको आरोप छ।
उनले सामाजिक सञ्जालमा फ्रेन्ड्स तथा फलोअर्स बढाउने र त्यसबाट आर्थिक आम्दानी गर्ने उद्देश्यले अफवाह फैलाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।
साइबर ब्युरोका अनुसार उक्त च्यानलबाट जातीय तथा धार्मिक हिंसात्मक र ध्वंसात्मक गतिविधिमा संलग्न व्यक्ति तथा समूहलाई थप उत्तेजित र आक्रामक बनाउन सक्ने सामग्रीसमेत प्रसारण गरिएको पाइएको छ।
त्यसैगरी, कानुनले प्रकाशन तथा प्रसारणमा रोक लगाएका सामग्री, व्यक्ति वा समुदायप्रति घृणा र द्वेष फैलाउने विषय तथा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धमा खलल पार्न सक्ने सामग्री प्रकाशन, प्रदर्शन र प्रसारण गरिएको ब्युरोको दाबी छ।
सामाजिक सञ्जालको नियमित निगरानी र प्राविधिक विश्लेषणका क्रममा भुसालको संलग्नता खुलेपछि उनलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ।
प्रहरीले भुसालमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको छ।
उनलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएपछि अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको साइबर ब्युरोले जनाएको छ।
प्रहरीले सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट प्रसारण हुने सामग्रीको सत्यतथ्य पुष्टि गरेर मात्र प्रकाशन र प्रसारण गर्न आग्रह गर्दै आएको छ। जातीय तथा धार्मिक सद्भाव बिथोल्ने, हिंसा भड्काउने, घृणा फैलाउने र सार्वजनिक शान्तिमा असर पार्ने सामग्री उत्पादन तथा प्रसारण गरे प्रचलित कानुनअनुसार कारवाही हुने ब्युरोले स्पष्ट गरेको छ।





