मनसुनी वायु सक्रिय, बागमती र गण्डकीका केही क्षेत्रमा धेरै भारी वर्षाको सम्भावना

ड्रागन मिडिया समाचार कक्ष
देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज अधिकांश क्षेत्रमा बदली र वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका धेरै स्थान र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने विभागले जनाएको छ। मधेस प्रदेश तथा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने विभागको मौसम बुलेटिनमा उल्लेख छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
विभागले भारी तथा धेरै भारी वर्षा हुने सम्भावित क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम रहन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने विभागले जनाएको छ। सर्वसाधारणलाई पछिल्ला मौसम पूर्वानुमान तथा चेतावनीसम्बन्धी सूचना नियमित रूपमा हेर्न अनुरोध गरिएको छ।





