प्रभावित स्थानीयलाई प्रतिकित्ता १०० रुपैयाँमै सेयर दिन इप्पानको आग्रह

ड्रागन मिडिया समाचार कक्ष
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई अङ्कित मूल्य अर्थात प्रतिकित्ता १०० रुपैयाँमै सेयर उपलब्ध गराउन सबै प्रवर्द्धक कम्पनीलाई आग्रह गरेको छ।
केही जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन प्रक्रियामा भएको ढिलाइका कारण स्थानीय प्रभावितका लागि प्रिमियम मूल्यमा सेयर जारी गर्ने विकल्पमाथि छलफल भइरहेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले बताउनुभएको छ।
धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ ले आयोजना प्रभावित स्थानीय बासिन्दालाई लाभान्वित गराउने उद्देश्यसहित १० प्रतिशत सेयर छुट्याउने व्यवस्था गरेको छ। इप्पानले यही व्यवस्थाको मर्मअनुसार स्थानीयका लागि छुट्याइएको सेयर अङ्कित मूल्यमै उपलब्ध गराउन सदस्य कम्पनीलाई अनुरोध गरेको हो।
इप्पानका अनुसार जलविद्युत आयोजना लगानीको माध्यम मात्र नभई स्थानीय समुदायसँगको विश्वास, सहकार्य र साझेदारीमा आधारित विकास अभियान पनि हो। आयोजना निर्माणका लागि जग्गा उपलब्ध गराउने, वातावरणीय तथा सामाजिक प्रभाव व्यहोर्ने, निर्माण अवधिका असुविधा सहने र आयोजनाको सफल कार्यान्वयनमा सहयोग गर्ने स्थानीयलाई स्वामित्वमा सहभागी गराउन सेयर छुट्याइएको संस्थाले जनाएको छ।
स्थानीयका लागि छुट्याइएको सेयर प्रिमियम मूल्यमा निष्कासन गर्दा आर्थिक पहुँच सीमित हुने, आयोजनाप्रतिको अपनत्व कमजोर बन्ने र आयोजना तथा समुदायबीच वर्षौँदेखि निर्माण भएको विश्वासमा नकारात्मक असर पर्न सक्ने इप्पानको ठहर छ।
अङ्कित मूल्यमा सेयर उपलब्ध गराउँदा प्रभावित बासिन्दा आयोजनाका वास्तविक साझेदार बन्ने र स्वामित्वको भावना बढ्ने संस्थाले जनाएको छ। यसले आयोजना निर्माण तथा सञ्चालनका क्रममा देखिने सामाजिक विवाद र अवरोध घटाउनुका साथै स्थानीयस्तरमा सहयोग र सहकार्य थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।
इप्पानका अनुसार स्थानीय सहभागिता सुनिश्चित भए जलविद्युत आयोजना समयमै सम्पन्न गर्न अनुकूल वातावरण बन्नेछ। स्थानीय समुदायले दीर्घकालीन आर्थिक लाभ प्राप्त गर्ने अवसर पाउनुका साथै आर्थिक सशक्तीकरण, स्थानीय विकास र सामाजिक सद्भावमा समेत योगदान पुग्ने संस्थाको विज्ञप्तिमा उल्लेख छ।
इप्पानले सरकार, नियामक निकाय र प्रवर्द्धक कम्पनीलाई आयोजना प्रभावित बासिन्दाको हित, जलविद्युत आयोजनाको दीर्घकालीन स्थायित्व तथा निजी क्षेत्र र स्थानीय समुदायबीचको सम्बन्धलाई प्राथमिकतामा राख्न अनुरोध गरेको छ।
स्थानीयका लागि छुट्याइने सेयर प्रतिकित्ता १०० रुपैयाँमै उपलब्ध गराउने नीतिलाई निरन्तरता दिन आग्रह गर्दै इप्पानले साधारण सेयर निष्कासनसम्बन्धी नियामकीय प्रक्रियालाई सरल, पारदर्शी र समयबद्ध बनाउनसमेत ध्यानाकर्षण गराएको छ।
सेयर निष्कासनमा भइरहेको ढिलाइका कारण जलविद्युत आयोजनाले भोगिरहेका समस्या समाधान गरी समयमै निष्कासन हुने व्यवस्था मिलाउन सरकार र सम्बन्धित निकायलाई इप्पानले आग्रह गरेको छ।





