१९ भाद्र २०८३, शुक्रबार

आबाको तिब्बती भाषा पुस्तकालयमा १२ हजारभन्दा बढी डिजिटल पुस्तक उपलब्ध

ड्रागन मिडिया समाचार कक्ष

चीनको सिचुवान प्रान्तस्थित आबा प्रिफेक्चरको तिब्बती भाषा पुस्तकालयले पाठकलाई १२ हजारभन्दा बढी तिब्बती भाषाका विद्युतीय पुस्तक उपलब्ध गराउँदै आएको छ।

आबा प्रिफेक्चरको तिब्बती भाषा रचना तथा अनुवाद ब्युरोले सञ्चालन गर्दै आएको पुस्तकालयमा नौ वटा पुस्तक कक्ष र एउटा व्याख्यान कक्ष छन्। पुस्तकालयको आठौँ तलामा रहेको विद्युतीय पठन कक्षबाट डिजिटल प्रणालीमार्फत तिब्बती भाषाका पुस्तक तथा दस्तावेज अध्ययन गर्न सकिन्छ।

विद्युतीय पठन प्रणालीमा प्राचीन तथा दुर्लभ दस्तावेज, पुराना तिब्बती ग्रन्थका सम्पादित संस्करण, विगतका विद्वानका संकलित रचना, तिब्बती भाषामा अनुवाद गरिएका प्रसिद्ध कृति तथा तिब्बती भाषा सिकाइसम्बन्धी सामग्री समावेश गरिएको छ।

पुस्तकालयमा धर्म, इतिहास, साहित्य र दर्शनसहित विभिन्न विधाका डिजिटल सामग्री उपलब्ध छन्। यसले पाठकलाई आवश्यक दस्तावेज खोज्न, अध्ययन गर्न र शैक्षिक अनुसन्धानका लागि सामग्री प्रयोग गर्न सहज बनाएको छ।

पाठकले डिजिटल प्रणालीमा पुस्तक तथा दस्तावेज खोजी गरी पढ्न र आवश्यक सामग्री पुनःप्रकाशन वा प्रतिलिपि गर्न सक्ने व्यवस्था गरिएको छ। प्राचीन ग्रन्थहरूको सूचीसमेत डिजिटल स्वरूपमा रूपान्तरण गरिएको छ। पाठकले क्यूआर कोड स्क्यान गरेर सम्बन्धित सामग्री खोज्न सक्ने पुस्तकालयले जनाएको छ।

पुस्तकालयले आगामी दिनमा उपलब्ध स्रोतलाई आधार बनाएर आबा प्रिफेक्चरको व्यवस्थित तिब्बती भाषा डिजिटल पुस्तकालय निर्माण गर्ने योजना बनाएको छ।

योजनाअन्तर्गत दुर्लभ दस्तावेज, स्थानीय विशेषता बोकेका सांस्कृतिक स्रोत तथा आधुनिक तिब्बती अध्ययनका उपलब्धिलाई एकीकृत गरिनेछ। संग्रह, अनुसन्धान र प्रसारलाई एउटै प्रणालीमा जोड्ने व्यापक डिजिटल केन्द्र निर्माण गर्ने लक्ष्य राखिएको छ।

विद्युतीय पठन कक्षको सेवा थप विस्तार गरी तिब्बती भाषाका दस्तावेजको डिजिटल संरक्षण र साझा प्रयोगलाई प्रवर्द्धन गरिने जनाइएको छ। यसबाट तिब्बती भाषा, साहित्य र सांस्कृतिक ज्ञानको संरक्षणसँगै नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पुस्तकालयले आधुनिक प्रविधिमार्फत परम्परागत ज्ञान र ऐतिहासिक दस्तावेज सुरक्षित गर्दै जातीय संस्कृतिको संरक्षण, निरन्तरता र विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button